Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल


0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्युनिकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित १२ औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताउनुभएको हो । उहाँले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत क्षति न्युनिकरण गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि भूविज्ञानको भुमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमार्फत संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

संसद, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य विस्तार गर्नुपर्ने बताउँदै उहाँले वैज्ञानिक निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनासँग जोड्नु संसद्को पनि महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।

त्यस्तै, विपद् आउनुअघि नै जोखिम पहिचान र न्युनिकरण गर्ने प्रणालीको विकास, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग र युवा वैज्ञानिकहरूको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसियासहित विश्वमै प्रभाव पार्न सक्ने उल्लेख गर्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच प्रभावकारी सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुने उल्लेख गर्दै सभामुख अर्यालले सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझाव राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहसम्मका व्यवहारिक कार्यमा रूपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो।

Skip This