Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


रुसमा एशियाकै विशिष्ट नेताका रुपमा मेरो परिचय गराइयोः संयोजक दाहाल


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विश्व राजनीतिबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रश्तुत गरेको बताउनुभएको छ ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । दाहालले सम्मेलनमा ७६ देशका राजनीतिक दलका अध्यक्ष, नेता, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको सहभागिता रहेको उल्लेख गर्दै आफूले दुई पटक सम्बोधन गरेको जानकारी दिनुभयो ।

पहिलो सम्बोधनमा नेपालको राजनीतिक अवस्थाबारे र दोस्रो सम्बोधनमा विश्व परिस्थिति तथा अन्तर्राष्ट्रिय राजनीतिबारे पार्टी र नेपालको धारणा प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

विश्वमा बढ्दै गएको युद्ध र तनाव, ब्रिक्सको भूमिका, बहुध्रुवीय विश्व व्यवस्थाको विकास, प्यालेस्टाइन र युक्रेनको अवस्थालगायत विषयमा नेपालको दृष्टिकोण स्पष्ट पारेको उहाँको भनाइ छ । उहाँले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले नेपालको धारणा र आफ्नो सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया दिएको पनि बताउनुभयो ।

कतिपय प्रतिनिधि सम्बोधनपछि आफूलाई भेट्न आएको र अंकमाल गर्दै प्रशंसा गरेको उहाँले उल्लेख गर्नुभयो । दाहालले सम्मेलनमा आयोजकले आफूलाई विशेष महत्व दिएको भन्दै त्यसलाई नेपालको राष्ट्रिय प्रतिष्ठा र कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुभयो ।

दाहालले भन्नुभयो, ‘७६ देशका राजनीतिक दलका नेता, अध्यक्ष, पूर्वमन्त्री तथा प्रधानमन्त्रीहरूको सहभागिता रहेको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर प्राप्त भयो । सम्मेलनमा मैले नेपालको वर्तमान अवस्था, विश्व परिस्थिति, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका विषयमा नेपालको तथा हाम्रो पार्टीको धारणा स्पष्ट रूपमा राखेँ । सम्मेलनमा हाम्रो पार्टी र नेपालको प्रतिनिधित्वलाई विशेष महत्व दिइएको थियो । सहभागी नेताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो । यसले नेपालको राष्ट्रिय गरिमा, हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेको मैले महशुस गरेको छु । समग्रमा, सम्मेलन मैले अपेक्षा गरेभन्दा निकै उपलब्धिमूलक र प्रभावकारी रह्यो । आगामी दिनमा यसलाई अझ सुदृढ बनाउन हामी सबैले पहल गर्नुपर्छ ।’

सम्मेलनको उद्घाटन सत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लिखित मन्तव्य प्रश्तुत गरिएको थियो । चीन भ्रमणका कारण पुटिन सहभागी हुन नसके पनि उनीसँग सम्बन्धित युनाइटेड रसिया पार्टीका अध्यक्षले मुख्य सम्बोधन गरेको दाहालले जानकारी दिनुभयो ।

Skip This