Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


फिफा काउन्सिलको बैठक आज, नेपाली फुटबलको निलम्बनबारे छलफल हुने


117
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को काउन्सिल बैठक आज बस्दैछ। फिफाको आधिकारिक वेबसाइटअनुसार स्विट्जरल्यान्डको ज्युरिखस्थित मुख्यालयमा बस्ने फिफा काउन्सिलको ३७औँ बैठकमा नेपाली फुटबलमाथि लागेको निलम्बनबारे छलफल हुनेछ।

सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। एन्फाको निर्वाचन प्रक्रिया र संस्थाको स्वायत्ततामाथि विवाद बढेपछि फिफाले यस्तो कदम चालेको हो।

निलम्बनपछि पहिलोपटक यस विषयमा निर्णय गर्ने अधिकारप्राप्त फिफा काउन्सिलको बैठक बस्न लागेको हो। त्यसैले आजको बैठकलाई नेपाली फुटबलको भविष्यका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।

बैठकमा एन्फाको अवस्थासँगै फिफाका नियम, खेलाडी सरुवा, प्रशासनिक सुधार तथा आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका विषयमा पनि छलफल हुनेछ।

गत असार ११ गते एन्फा निलम्बनमा परेयता सरकारले फिफासँग संवादको प्रयास गरे पनि सार्थक परिणाम आउन सकेको छैन। यसबीचमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डे पक्राउ परेका छन् भने अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।