Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकताः प्रश्तावित राजदुत थापा


0
Shares

काठमाडौं । जापानका लागि प्रश्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाले लामो समयदेखि हुन नसकेको कार्यकारी तहको उच्चस्तरीय भ्रमण र त्यहाँ तिब्र रूपमा बढिरहेको नेपाली समुदायलाई चुस्त कन्सुलर सेवा प्रदान गर्नु आफ्नो मुख्य दायित्व हुने बताउनुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत थापाले नेपाल र जापानबीच उच्च राजनीतिक संवादको रिक्तता हटाउन पहल गर्ने बताउनुभयो ।

नेपालबाट सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीले भ्रमण गरेयता प्रधानमन्त्रीस्तरको द्विपक्षीय भ्रमण हुन नसकेको औंल्याउँदै उहाँले यस अन्तराललाई तोड्न दुवै सरकारसँग समन्वय गरी उच्चस्तरीय भ्रमणको वातावरण बनाउने स्पष्ट पार्नुभयो ।

जापानमा नेपाली समुदायको उपस्थिति अभूतपूर्व रूपमा बढेको तथ्यांक प्रश्तुत गर्दै थापाले पछिल्लो दुई दशकमा नेपालीको संख्या करिव ४३ गुणाले बढेको जानकारी दिनुभयो । सन् २००५ मा ६ हजार ९५३ जना रहेकोमा हाल यो संख्या ३ लाख ९ हजार ९९२ पुगेको छ, जुन नेपालको कुल जनसंख्याको करिव एक प्रतिशत बराबर हो।

जापानका सबै ४७ वटै प्रिफेक्चरमा फैलिएका नेपालीहरूमध्ये १ लाख १६ हजारभन्दा बढी विद्यार्थी, करिव ७३ हजार पारिवारिक आश्रित र ४८ हजारभन्दा बढी प्राविधिक तथा व्यावसायिक भिसामा रहेका छन् ।

समुदायको तिब्र विस्तारसँगै दुतावासको वर्तमान जनशक्ति र पूर्वाधारले माग धान्न कठिन भइरहेको स्वीकार्दै उहाँले कन्सुलर सेवालाई पूर्ण डिजिटलाइज्ड गर्ने योजना अघि सार्नुभयो ।

राहदानी तथा अन्य प्रमाणीकरणका लागि अनलाइन आवेदन, डिजिटल भुक्तानी र टोकियोबाहिर टाढा बस्ने नेपालीहरूका लागि समुदायको मागअनुसार घुम्ती कन्सुलर सेवा सञ्चालन गरिने उहाँको भनाइ छ । यसका साथै श्रमिकहरूको मागपत्र प्रमाणीकरण प्रक्रियालाई सरलीकृत गर्दै निश्चित समयसीमाभित्र सम्पन्न गर्ने प्रणाली बसाल्ने उहाँले बताउनुभयो ।

जापानमा लामो समय उच्च शिक्षा, प्राध्यापन तथा कुटनीतिक समन्वयको अनुभव सम्हालेका थापाले आफ्नो भाषागत दक्षता र स्थानीय तहसम्मको सम्बन्धलाई राष्ट्रिय हित तथा आर्थिक कुटनीतिमा सदुपयोग गर्ने विश्वास दिलाउनुभयो ।

विपद् व्यवस्थापन र विकास साझेदारीमा जापानले पुर्‍याउँदै आएको सहयोगको स्मरण गर्दै उहाँले नागरिक स्तरको सम्बन्धलाई अझ फराकिलो बनाउने बताउनुभयो ।