Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव फेला


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारूको शव फेला परेको छ ।

नेपाल टेलिकमको चुँडिएको इन्टरनेट तार तान्ने क्रममा शनिबार महाकाली नदीमा बगेर बेपत्ता भएका थारूको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिएका छन् ।

दोधारा चाँदनीस्थित सशस्त्र प्रहरीको बीओपी देवीस्थानमा कार्यरत थारू झोलुङ्गे पुल भत्किएपछि चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीका अनुसार बोटमा सवार सशस्त्र प्रहरीका छ जनासहित सात जना तार तान्ने काममा खटिएका थिए । सोही क्रममा बोटबाट खसेर थारू नदीमा बेपत्ता भएका थिए । घटनामा अन्य छ जना भने सकुशल रहेका थिए ।

गत असोज १४ गते भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको एक पिलर नदीमा खसेपछि पुल भत्किएको थियो । पुलसँगै जडान गरिएका टेलिफोन तथा इन्टरनेटका तारसमेत चुँडिएपछि दोधारा चाँदनीमा तारमार्फत सञ्चालित सञ्चार सेवा प्रभावित हुँदै आएको थियो ।