Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


पर्यटन क्षेत्रको सुधार र सहकार्यमा जोड दिँदै नाटोको साधारण सभा सम्पन्न


0
Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) को २४औँ वार्षिक साधारण सभाले नेपालको पर्यटन क्षेत्रमा संस्थागत सुधार, पर्यटन पूर्वाधारको विकास र सरोकारवालाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।

काठमाडौंको लाजिम्पाटस्थित होटल मनास्लुमा मंगलबार सम्पन्न सभामा पर्यटन क्षेत्रका चुनौती, नीतिगत सुधार, पूर्वाधार विकास तथा निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल भएको हो।

नाटोका अध्यक्ष विश्वेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा पर्यटन उद्योगका प्रतिनिधि तथा संघका सदस्यहरूको सहभागिता थियो। सभामा महासचिव दिनम लामिछानेले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा अर्थपूर्ण सुधारका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलगायत प्रमुख पर्यटन संस्थामा संस्थागत सुधार आवश्यक रहेको बताउनुभयो। संस्थागत सुधार, उत्तरदायित्व र प्रभावकारी व्यवस्थापन प्रणालीबिना नेतृत्व परिवर्तनले मात्रै सकारात्मक परिणाम दिन नसक्ने उहाँको भनाइ थियो।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका सञ्चालनसम्बन्धी समस्याप्रति पनि ध्यानाकर्षण गराउनुभयो। विमान लामो समयसम्म आकाशमै प्रतीक्षा गर्नुपर्ने अवस्थाले यात्रुलाई असुविधा हुनुका साथै हवाई भाडा बढ्न सक्ने र नेपालको पर्यटन प्रतिस्पर्धामा समेत असर पर्ने उहाँले बताउनुभयो।

पर्यटनसम्बन्धी नीतिगत निर्णय गर्दा उद्योगका सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिने प्रस्ताव कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। यसबाट लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो।

गजुरीमा पर्यटकका लागि सार्वजनिक शौचालय निर्माण गर्ने योजना

पर्यटन पूर्वाधार विकासका लागि नाटोले धादिङको गजुरीमा अन्तर्राष्ट्रियस्तरको सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारेको छ। महत्वपूर्ण यात्रा मार्गमा सरसफाइ र यात्रुको सुविधामा सुधार ल्याउने उद्देश्यले प्रस्ताव गरिएको उक्त योजनाबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ।

सभामा पाटा नेपालका अध्यक्ष नरेन्द्र भट्टले विलासी पर्यटन प्रवर्द्धन गर्दा एक तथा दुईतारे होटल, लज, साना होटल र होमस्टेजस्ता व्यवसायको हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो। पर्यटन विकासबाट सबै प्रकारका व्यवसायले लाभ लिन सक्ने समावेशी दृष्टिकोण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले नेपालको पर्यटन विकास तथा साझा सरोकारका विषयमा नाटोसँग सहकार्य गर्न नाट्टा तयार रहेको बताउनुभयो।

त्यस्तै, स्काल नेपालका अध्यक्ष रमेश लुइँटेलले पर्यटन संघसंस्थाबीच सामूहिक प्रतिनिधित्वको आवश्यकता औँल्याउनुभयो। पर्यटन महासंघ गठन गर्न सके सरकारसँगको संवाद र साझा मुद्दामा पैरवी गर्न पर्यटन क्षेत्रको आवाज थप बलियो बन्न सक्ने उहाँको भनाइ थियो।

पर्यटकका लागि कनेक्टिभिटीमा जोड

सभामा एनसेलकी प्रोडक्ट विभागकी वरिष्ठ विशेषज्ञ कल्पका शर्माले ‘नेपाल आउने यात्रुहरूका लागि कनेक्टिभिटी परियोजना’ सम्बन्धी प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिमा नेपाल भ्रमण गर्ने पर्यटकका लागि कनेक्टिभिटीको महत्त्व तथा सेवा सुधारमा पर्यटन संस्था र निजी क्षेत्रबीचको सहकार्यबारे चर्चा गरिएको थियो।

सभामा महासचिव लामिछानेले संघका गतिविधि तथा संस्थागत संलग्नतासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष सुरेन्द्र गुरुवाचार्यले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदन र आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।

कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए भने राज ग्वयालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। सभाको बन्द सत्रमा संघका प्रस्ताव, निर्णय, आर्थिक प्रतिवेदन तथा आगामी बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो।

साधारण सभाले नेपालको पर्यटन क्षेत्रलाई प्रतिस्पर्धी, दिगो र आकर्षक गन्तव्यका रूपमा विकास गर्न संस्थागत सुधार, पर्यटन पूर्वाधार विस्तार, समावेशी पर्यटन प्रवर्द्धन र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष अघि सारेको छ।