Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु


0
Shares

काठमाडाैं । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् ।

बुधवारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा शुरु गरिएको छ । बुधवार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गर्नुभएको हो ।

मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिनुभयो । सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । उहाँले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पु¥याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमाता विस्तार गरिने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हुलाकको आफ्नै स्ट्रेन्थ पनि छ, लिमिटेसन पनि छ । आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तपाईहरुले प्लान गर्नुभएको समयभन्दा अगाडि पुर्याउन कोशिस गर्नुहोला । हामीले विस्तारै हुलाक सेवालाई थप प्रभावकारी पनि बनाउँदैछौँ । हुलाको क्षमाता विस्तार पनि गर्दैछौँ ।

भोलिको दिनमा एक दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्नसक्ने गरी यसको क्यापासिटी बिल्ड गर्नुपर्छ । शहरी क्षेत्रमा अझै छिटो गर्न सकिन्छ । सिम डेलिभरीको अभ्यासलाई पनि हेरेर सिम डेलिभरीमा कति समय लागिरहेको छ, यसबाट सेवाग्राही खुसि हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर केही कुरा सुधार पनि गर्नुपर्छ होला । तर अहिलेको लागि यो एकदमै ठिक छ ।

दुवै संस्थालाई यसको सुरुवात गरेकोमा धन्यावाद समेत ज्ञापन गर्न चाहान्छु । यसबाट नेपाल टेलिकमले समेत सेवाग्राही खुसिको लाभ लिन सकोस् । र हुलाकलाई पनि केही प्रभावकारी बनाओस् । हामीले राज्यका सबै निकायलाई प्रभावकारी बनाउँदै लैजाने हो । नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा हामी सबै लाग्नुपर्छ ।’ सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पु¥याउन सहज हुने उहाँको विश्वास छ ।