काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ।
विभागको सभा हलमा बिहान ११ बजे छलफल आयोजना गरिएको छ। बैठकमा अग्रिम टिकट बुकिङको व्यवस्थापन, यात्रुको चाप तथा चाडबाडमा सहज यातायात सञ्चालनलगायत विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा सहभागी हुन प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनलाई बोलाइएको छ।
त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघका प्रतिनिधिलाई पनि विभागले निमन्त्रणा गरेको छ।
दशैं नजिकिँदै जाँदा काठमाडौंबाट घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्ने टुंगो नलाग्दा यात्रुहरू अन्योलमा परेका छन्।









प्रतिक्रिया दिनुहोस्