खुशी माया गुरुङ, लमजुङ ।
मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर आयोजनामा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेका छन् ।
सोमबार आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेका थिए । भीरबाट खसेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । तर, चिकित्सकले दिउँसो उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सुपर ङादी हाइड्रोपावर आयोजनामा कामदारको सुरक्षाका लागि आवश्यक सुरक्षा मापदण्ड पालना नगरिएको भन्दै प्रश्न उठेको छ ।
तीन दिनको अन्तरालमै सोही आयोजनामा कार्यरत अर्का एक कामदार पनि भीरबाट खसेर गम्भीर घाइते भएका छन् । गत असोज १७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय रविन बस्नेत आयोजना स्थलभन्दा करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा बाटोबाट सन्तुलन गुमाएर करिब ६० मिटर तल भीरको खोंचमा खसेका थिए । तत्काल उद्धार गरी प्रदेश अस्पताल लमजुङ ल्याइएका बस्नेतको छाती र बायाँ हातमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।
उनको अहिले अस्पतालमै उपचार भइरहेको छ । लगातार छोटो अवधिमै दुई कामदार भीरबाट खसेको घटनाले आयोजनास्थलमा कामदारको सुरक्षाका लागि अपनाउनुपर्ने सेफ्टी मेजर्स प्रभावकारी नभएको देखाएको छ ।
कामदारको ज्यान जोखिममा पर्ने गरी सुरक्षा व्यवस्था कमजोर रहेको गुनासो बढिरहेका बेला आयोजनास्थलमा आवश्यक सुरक्षा मापदण्ड तत्काल लागू गर्नुपर्ने देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्