Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


भोटेकोशी बाढीमा बेपत्ता पवनको कुशको शव बनाएर अन्त्येष्टि


0
Shares

सविना अछामे, खोटाङ । भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएका खोटाङका ३२ वर्षीय पवन खत्रीको परिवारले कुशको शव बनाएर आइतबार अन्त्येष्टि गरेको छ । शव फेला नपरेको र डीएनए परीक्षणको नतिजा आउन ढिलाइ भएपछि परिवारले धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरी काजकिरिया सुरु गरेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका खत्री नुवाकोटस्थित शेर गणअन्तर्गत रसुवाको मैलुङ पोस्टमा कार्यरत थिए । ड्युटीमा रहेकै बेला उनी बाढीमा परेर बेपत्ता भएका थिए ।

खत्रीको जस्तै देखिने शव पश्चिम नवलपरासीको गैँडाकोटमा फेला परेको बताइए पनि पहिचान भने पुष्टि हुन सकेको छैन । उक्त शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मातहतमा राखिएको छ ।

शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइएको छ । पवनकी आमा रुद्रमायाको नमुनासमेत गत भदौ १९ गते नै काठमाडौं पठाइए पनि परीक्षणको नतिजा नआएकाले परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो ।