काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्दै उहाँले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिवद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताउनुभएको हो । सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताउनुभयो ।
नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उहाँको भनाइ छ । उहाँले राज्यसँग साधन र स्रोत सीमित भएपनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्नसके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने बताउनुभयो ।
सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उहाँले बताउनुभयो ।
नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘व्यवसाय हुँदै राजनीतिमा प्रवेश गरेको मैले देश र जनताको सेवाका लागि सार्वजनिक जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु । २०८२ भदौ २३ र २४ गतेको घटनापछि नेपाली राजनीतिमा आएको परिवर्तनले नयाँ राजनीतिक शक्तिलाई ठूलो जिम्मेवारी दिएको छ । जनताको अपेक्षा र विश्वासअनुसार इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ काम गर्नु आजको आवश्यकता हो । सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको भावना सम्बोधन गर्ने कानून निर्माण गर्न सबैको सहकार्य आवश्यक छ । साहित्यले समाजका समस्या, विकृति र नागरिकका भावनालाई जीवन्त रूपमा प्रश्तुत गर्ने भएकाले साहित्य र साहित्यकारप्रति मेरो उच्च सम्मान छ । आठौँ बाह्रखरी कथा प्रतियोगिताको उत्कृष्ट २५ मा पर्न सफल सम्पूर्ण कथाकारहरूलाई हार्दिक बधाई तथा विजेताहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु । नेपाली साहित्यको विकास र समाजको सकारात्मक रूपान्तरणमा यहाँहरूको सिर्जनशील योगदान निरन्तर रहिरहोस् ।’
उहाँले प्रतियोगिताका उत्कृष्ट २५ कथाकारसहित प्रथम, द्वितीय र तृतीय हुने स्रष्टाहरूलाई बधाई दिँदै नेपाली कथा साहित्यको विकासमा निरन्तर योगदान पुर्याउन शुभकामना व्यक्त गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्