रसुवा । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवावासीलाई लक्षित गरी जिल्लाको बेत्रावती, लहरेपौवा, कालिकास्थान र धुञ्चेमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन भइरहेको छ ।
रसुवा कम्युनिटी डेभलपमेन्ट र सिटोप अष्ट्रेलियाको आयोजना तथा उत्तरगया गाउँपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । विपद्बाट प्रभावित नागरिकका साथै स्थानीय समुदायलाई सहजरूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको रसुवा कम्युनिटी डेभलपमेन्टका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।
बेत्रावतीबाट सुरु भएको सो स्वास्थ्य शिविर कार्यक्रम असोज १७ र १८ गते लहरेपौवामा सम्पन्न भई असोज १९ र २० गते कालिकास्थान तथा २१ र २२ गते धुञ्चेमा समाप्त हुने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
आयोजकका अनुसार शिविरमा स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सामान्य स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, मुख तथा दाँतको परीक्षण, दाँत भर्ने र दाँत निकाल्नेलगायतका सेवा प्रदान गरिने छ । साथै, बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको सो शिविरमा बाढीपहिरोबाट प्रभावित नागरिक, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीलाई विशेष प्राथमिकता दिइएको बताइएको छ ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएसँगै बाढी प्रभावित स्थानीयवासी लाभान्वित भएको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्