लहान । सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नम्बर ३ को बिहारपुर टोलमा बुधबार जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्याली आयोजना गरिएको छ।

नगरपालिकाले अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नगरका सबै वडामा नियमित रूपमा सडक नाटक, स्वच्छता र्याली तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नागरिकमा सरसफाइसम्बन्धी सकारात्मक सोच र व्यवहार परिवर्तन ल्याउने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको हो।

कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ‘गहना–गहनरी, रूप–सिङ्गार, शौचालयबिना जीवन बेकार’, ‘स्वच्छता अपनाऔँ, बिरामी हटाऔँ’ र ‘शौचालय हाम्रो सभ्यताको इज्जत हो’ लगायतका नारासहित बिहारपुर क्षेत्रको परिक्रमा गर्दै स्वच्छताको सन्देश प्रवाह गरेका थिए।

र्यालीपछि प्रस्तुत गरिएको सडक नाटकमार्फत शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण तथा खुला दिसामुक्त अवस्थाको दिगोपनाबारे सन्देश दिइएको थियो। कलाकारहरूले मनोरञ्जनात्मक शैलीमार्फत स्वच्छता, स्वास्थ्य र सामाजिक जिम्मेवारीबीचको सम्बन्ध उजागर गर्दै सरसफाइलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउनुपर्ने सन्देश दिएका थिए।

सडक नाटकको मुख्य सन्देश ‘शौचालय मर्यादासँग जोडिएको छ, शौचालय हाम्रो शान हो’ भन्ने रहेको थियो। प्रस्तुतिमार्फत शौचालयलाई केवल भौतिक संरचना नभई स्वास्थ्य, आत्मसम्मान, पारिवारिक प्रतिष्ठा र सभ्य समाज निर्माणको आधारका रूपमा चित्रण गरिएको थियो। साथै स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमप्रति स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले सिर्जनात्मक माध्यमबाट समुदायमा पुर्याइएको सन्देश प्रभावकारी हुने र व्यवहार परिवर्तनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले स्वच्छ नगर निर्माणका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त नभई नागरिकको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए।

उनले भने, “घर–घरको शान, स्वच्छता अभियान सरसफाइमा मात्र केन्द्रित कार्यक्रम होइन, यो नागरिकको सोच, बानी र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो। स्वच्छ र स्वस्थ लहान निर्माणका लागि जनचेतना अभिवृद्धि र नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ।”

नगर प्रमुख चौधरीका अनुसार अभियानले शौचालयको नियमित तथा दिगो प्रयोग प्रवर्द्धन गर्नुका साथै व्यक्तिगत र वातावरणीय सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउने तथा जनस्वास्थ्य सुधार गर्ने लक्ष्य राखेको छ। नगरपालिकाले आगामी दिनमा पनि प्रत्येक वडामा सिर्जनात्मक कार्यक्रममार्फत स्वच्छताको सन्देश समुदायस्तरसम्म पुर्याउँदै अभियानलाई निरन्तरता दिने जनाएको छ।











प्रतिक्रिया दिनुहोस्