Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


झापामा चौपाया तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीसँग झडप, एक घाइते


0
Shares

सुरेन्द्र भण्डारी, झापा । भारततर्फ अवैध रूपमा चौपाया लैजान खोज्ने समूह र सशस्त्र प्रहरीबीच झापाको लसुनगञ्ज सीमा क्षेत्रमा झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठीचार्जबाट एक जना घाइते भएका छन् ।

झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज नाकाबाट भारततर्फ लैजान लागिएका १८ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको थियो ।

आइतबार राति करिब ११ः३० बजे सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको नेतृत्वमा २५ जनाको टोली चौपाया नियन्त्रणमा लिन खटिएको थियो ।

नियन्त्रणमा लिइएका गोरु लिएर फर्किने क्रममा १० देखि १५ जनाको समूहले प्रहरीको बाटो अवरुद्ध गर्दै विवाद गरेको सशस्त्र प्रहरीले जनाएको छ । उक्त समूहले सुरक्षाकर्मीमाथि हातपातको प्रयास गरेपछि झडप भएको र अवस्था नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको प्रहरीले बताएको छ ।

लाठीचार्जबाट झापा गाउँपालिका–२ निवासी ४१ वर्षीय विनोदकुमार बराइली घाइते भएका छन् । उनको दाहिने तिघ्रामा चोट लाग्नुका साथै हड्डी भाँचिएको बताइएको छ । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको छ ।

घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक सुवास ढुंगानाको नेतृत्वमा अर्को टोलीसमेत घटनास्थल पुगेको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका १८ वटा गोरु बीओपी टाँघनडुब्बामार्फत भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरी स्रोतका अनुसार भन्सारमा दुई लाख ५५ हजार रुपैयाँ राजस्व बुझाएपछि व्यापारीले नै ती चौपाया फिर्ता लगेका छन् ।

लसुनगञ्ज नाकाबाट चौपाया तस्करी हुने गरेको सूचनापछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाउँदै आएको छ । पछिल्लो घटनाले अवैध ओसारपसार नियन्त्रणका क्रममा उत्पन्न हुने सुरक्षा चुनौतीलाई पुनः सतहमा ल्याएको छ ।

Skip This