Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


दैलेखमा बोलेरो जिप दुर्घटना, ६ जना घाइते, चालकको अवस्था गम्भीर


0
Shares

दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ५ः३० बजे कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

विषादी सेवन गरेका बिरामीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेत लैजाँदै गर्दा जिप दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनापछि प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट खटिएको टोलीले जिपमा सवार चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल पठाएको छ ।

घाइते हुनेमा चालक कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने सार्की र २७ वर्षीया कैसी सार्की रहेका छन् ।

दुर्घटनामा चालक सिंखडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Skip This