Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


महाकाली नदीको बहाव घट्यो, चारपाङ्ग्रे सवारी पुनः सञ्चालनमा


156
Shares

प्रकाश भट्ट-संवाददाता

कञ्चनपुर । महाकाली नदीको बहाव घट्न थालेसँगै नेपाल–भारत जोड्ने बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले शुक्रबार बिहान ५ बजेको मापन अनुसार नेपाल–भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा महाकाली नदीको बहाव ९० हजार ७ सय ३६ क्युसेक रहेको जनाएकाे हाे। पानीको बहाव एक लाख क्युसेकभन्दा कम भएपछि शुक्रबार बिहान सवाँ ६ बजेदेखि बनबासा पुलबाट चार पाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ववत रूपमा सञ्चालन गरिएको हो।

यसअघि माथिल्लो तटीय क्षेत्रमा परेको निरन्तर वर्षा तथा भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा जमेको सिल्ट हटाउन सबै ढोका खोलिएपछि महाकाली नदीको बहाव एक लाख ३० हजार क्युसेक भन्दा माथि पुगेको थियो। त्यसपछि सुरक्षा सतर्कताका रूपमा बिहीबार मध्यान्हदेखि बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको थियो।

नदीमा एक लाख क्युसेक भन्दा बढी बहाव हुँदा चारपाङ्ग्रे सवारीसाधन र दुई लाख क्युसेक भन्दा बढी बहाव हुँदा दुईपाङ्ग्रे सवारीसाधन र पैदल यात्रुको आवागमन समेत रोक्ने अभ्यास रहँदै आएको छ। करिब एक शताब्दी पुरानो बनबासाको शारदा ब्यारेजको संरचनागत अवस्थालाई मध्यनजर गर्दै साेही अभ्यास अहिले पनि कायमै रहेकाे हाे ।