काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धामा उत्रनेछन्।
दिनको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
हालसम्म पाँच खेल खेलेको विराटनगरले दुई जित र तीन हारसहित चार अंक जोडेको छ। टोली अंक तालिकाको छैटौं स्थानमा छ। उता पोखराले पाँच खेलबाट एक जित मात्र निकाल्न सकेको छ। चार खेलमा पराजित भएको पोखरा तालिकाको अन्तिम स्थानमा रहेको छ।
आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
पाँच खेलबाट दुई जित र तीन हार व्यहोरेको कर्णाली चार अंकसहित तालिकाको सातौं स्थानमा छ। लुम्बिनी भने पाँच खेलबाट तीन जित र एक हारसहित सात अंक जोडेर तेस्रो स्थानमा रहेको छ। लुम्बिनीको एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए।









प्रतिक्रिया दिनुहोस्