Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


साइकलको घण्टीबाट गुञ्जिएको नेपाल संवत् आन्दोलनको इतिहास


0
Shares

काठमाडौं । नेपाल संवत्काे नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको भिंतुना र्‍याली केवल शुभकामना आदानप्रदान गर्ने पर्वीय कार्यक्रम मात्र होइन, नेपालभाषा, नेवाः संस्कृति र मौलिक पहिचान संरक्षणका लागि सुरु भएको ऐतिहासिक सांस्कृतिक आन्दोलन पनि हो। नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने अभियानसँग समेत जोडिएको यस र्‍यालीको इतिहास साइकल यात्राबाट सुरु भएको थियो।

नेपाल संवत्को भिंतुना र्‍यालीको सुरुवात सन् १९७५ मा भएको इतिहास छ। श्रीकृष्ण नकर्मी (श्रीकृष्ण अणु) को नेतृत्वमा उहाँका साथीहरूले पहिलोपटक साइकल र्‍याली आयोजना गर्दै यस अभियानको थालनी गर्नुभएको थियो। नेपालभाषामा नयाँ वर्षको शुभकामना लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त र्‍याली नयाँ वर्षको स्वागतसँगै नेपालभाषा र नेवाः संस्कृतिमाथि भइरहेको दमनविरुद्धको सांकेतिक आवाजसमेत थियो।

त्यतिबेला काठमाडौंमा साइकल पसलहरू निकै सीमित थिए। पञ्चनारायण अष्टनारायणको साइकल पसल राजधानीकै पहिलो साइकल पसलका रूपमा परिचित थियो। त्यसपछि बेखनारायण देव नारायण एण्ड ब्रदर्स तथा प्रधान र ताम्राकारहरूले पनि साइकल पसल सञ्चालन गरेका थिए। तीमध्ये पञ्चनारायण अष्टनारायणका छोरानाति कमलाछिस्थित तीर्थनारायण र प्रचण्ड मानन्धरलगायतका तीनवटा पसलबाट पहिलो साइकल र्‍यालीका लागि साइकल उपलब्ध गराइएको थियो।

र्‍याली सुरु हुँदा र समापनका क्रममा एकैसाथ बजाइएका साइकलका घण्टीको सामूहिक ध्वनिले नेपाल संवत् आन्दोलनको सुरुवाती बिगुल फुकेको अनुभूति गराएको न्हापांगु पलाः नेवाः मिसा पुचःकी अध्यक्ष एवं सामाजिक अभियन्ता शिला साय्‌मि बताउनुहुन्छ। उहाँका अनुसार त्यसबेलाको र्‍यालीमा देखिएको उत्साह, सामूहिक एकता र सांस्कृतिक चेतनाले नेपाल संवत् आन्दोलनलाई थप ऊर्जा प्रदान गरेको थियो।

साइकल र्‍यालीबाट सुरु भएको यो अभियानले क्रमशः व्यापक सांस्कृतिक आन्दोलनको स्वरूप ग्रहण गर्‍यो। नेपालभाषा मंकाः खलःको आह्वान तथा तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल संवत् ११०० अर्थात् वि.सं. २०३६ मा भिंतुना सांस्कृतिक र्‍यालीलाई औपचारिक रूपमा अघि बढाइएको थियो। विभिन्न नेवाः सांस्कृतिक समूह र सर्वसाधारणको सहभागितामा निकालिएको उक्त र्‍यालीले काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्दै थँहिटी पुगेर समापन गरेको थियो।

त्यतिबेला मुलुकमा पञ्चायती शासन व्यवस्था कायम थियो। यस्तो राजनीतिक परिवेशमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा स्थापित गर्ने, नेपालभाषाको संरक्षण गर्ने र नेवाः समुदायको सांस्कृतिक पहिचानलाई सार्वजनिक रूपमा उजागर गर्ने उद्देश्यले र्‍याली आयोजना गर्नु आफैँमा महत्त्वपूर्ण कदम थियो। सार्वजनिक सभा तथा जुलुसमा विभिन्न बन्देज र चुनौती रहेको अवस्थामा सांस्कृतिक कार्यक्रममार्फत समुदायलाई एकताबद्ध गर्दै पहिचान र अधिकारको आवाज उठाउने माध्यमका रूपमा भिंतुना र्‍याली विकास भएको थियो।

यसरी सन् १९७५ मा श्रीकृष्ण नकर्मीको नेतृत्वमा सुरु भएको साइकल र्‍याली र नेपाल संवत् ११०० मा पद्मरत्न तुलाधरको नेतृत्वमा अघि बढेको सांस्कृतिक भिंतुना र्‍याली नेपाल संवत् आन्दोलनका क्रमिक ऐतिहासिक चरणका रूपमा स्थापित भएका छन्।

आज नेपाल संवत् ११४७ को स्वागत गरिरहँदा भिंतुना र्‍याली काठमाडौं उपत्यकामा मात्र सीमित नरही देशका विभिन्न स्थानमा विस्तार भइसकेको छ। सुरुमा साइकलका घण्टी र नेपालभाषामा लेखिएका शुभकामना सन्देशमार्फत अभिव्यक्त भएको सांस्कृतिक चेतना अहिले बाजागाजा, झाँकी, परम्परागत भेषभूषा र विभिन्न सांस्कृतिक प्रस्तुतिसहितको बृहत् जनसहभागितामा परिणत भएको छ।

साइकल चढेर सुरु भएको एउटा सानो अभियानले आज व्यापक सांस्कृतिक आन्दोलनको रूप लिनु यसको ऐतिहासिक महत्त्वको प्रमाण हो। त्यसैले नेपाल संवत्को भिंतुना र्‍याली नयाँ वर्ष मनाउने परम्परा मात्र नभई नेपालभाषा, नेवाः संस्कृति, मौलिक पहिचान, स्वाभिमान र सांस्कृतिक अधिकारका लागि गरिएको सामूहिक संघर्षको जीवन्त इतिहाससमेत हो।

Skip This