Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


गोरखामा ट्याक्सी ४० मिटर तल खस्यो, दुई जनाको अवस्था गम्भीर


0
Shares

काठमाडौं । गोरखाको सिरानचोकमा रोकिराखेको ट्याक्सी अचानक पछाडि सरेर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सिरानचोक गाउँपालिका–२ सिउरेनीमा बुधबार बिहान करिब ११ः३० बजे उक्त दुर्घटना भएको हो । चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सडक छेउमा रोकिएको अवस्थामा एक्कासि ब्याक भएर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये सिरानचोक–२ की ३२ वर्षीया मञ्जु परियार र करिब ५० वर्षीया गीतामाया परियारको अवस्था गम्भीर छ ।

त्यस्तै, ट्याक्सी चालक ४० वर्षीय वीरबहादुर गुरुङ सामान्य घाइते भएका छन् भने २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियारको अवस्था मध्यम रहेको छ ।

सबै घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ । दुर्घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This