काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनाएको हो। अब जनकपुरले जितका लागि १२१ रन बनाउनुपर्नेछ।
सुदूरपश्चिमको इनिङ्समा ब्रान्डन म्याकमलेनले सबैभन्दा बढी ३३ रनको योगदान दिए। २३ बल सामना गरेका उनले २ छक्का र २ चौका प्रहार गरे। त्यस्तै, थरिन्दु रत्ननायकेले २७ रन जोड्ने क्रममा २८ बलमा २ छक्का र १ चौका बनाए।
जनकपुरका कप्तान हरमीत सिंह बलिङमा प्रभावशाली देखिए। उनले ४ ओभरमा २२ रन मात्रै दिएर सुदूरपश्चिमका ४ ब्याटरलाई पवेलियन फर्काए। ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले पनि एक–एक विकेट लिए।
प्रतियोगितामा सुदूरपश्चिमले पाँच खेलबाट तीन जित निकाल्दै ६ अंक बटुलेको छ। टोली हाल अंकतालिकाको तेस्रो स्थानमा छ। पाँच खेल खेलेको जनकपुरले भने दुई जितसहित चार अंक जोडेर पाँचौँ स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस्