Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी


117
Shares

काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित वागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिनुभएको हो ।

कार्यकारी निर्देशक साहकाअनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित वागमतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तिब्रता दिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन र दररेटको समस्याका कारण रोकिएको उक्त आयोजना हिजोको बैठकबाट ईआईए प्रतिवेदन स्वीकृत भएसँगै ‘फास्ट ट्रयाक’ मा अगाडि बढाइएको छ ।

हाल वागमतीबाट दैनिक २ करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब थप पाइपलाइन विस्तार गरी त्यसको क्षमता बढाइने भएको छ । पहिलेका दुई वटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गर्ने कार्य हिजोबाटै सुरु भइसकेको छ ।

उक्त आयोजनाका लागि आवश्यक २०० मिटर डीआई पाइप संस्थासँगै उपलब्ध रहेको र बाँकी ५०० एमएमको एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिने साहले बताउनु भयो । आगामी तीन हप्तादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यसबाट चक्रपथभित्र मेलम्चीको पानी अभावका कारण प्रभावित क्षेत्रमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

उहाँले भन्नुभयो, ‘यो मेलम्ची काठमाडौँ उपत्यकामा पानीको स्रोतहरुमध्ये अहिले मेलम्चीबाट आउने स्रोत १८ देखि २० करोड लिटर प्रतिदिन त्यो बन्द भएको स्थितिमा हामीले वैकल्पिक पानीको स्रोत खोज्ने क्रममा बागमती सुन्दरीजल प्रशोधन केन्द्रको माथि वागमती खोलाबाट शिवपुरीबाट पानी ल्याउने एउटा हाम्रो ५–६ वर्ष पहिलेको योजना थियो । ५–६ वर्षको योजना विभिन्न कारणले ईआईए रिपोर्ट नभएर, हामी दुईपल्ट टेन्डर गरेपनि दर रेटको कारणले रद्द गर्नुपर्ने स्थिति भएपनि अहिले हामीले त्यहाँ हिजोबाट फास्ट ट्रयाकमा ईआईए रिपोर्ट पनि लगभग पास भयो हिजोको बैठकबाट । म पनि त्यहाँ सहभागी थिएँ र हिजोको हाम्रो प्रयासबाट हामीले त्यो शिवपुरीको निकुञ्जबाट वागमतीको नदीबाट अहिले जुन २ करोड प्रतिलिटर पानी आइरहेको भोल्युमलाई थप पाइपहरू, पहिले हाम्रो १४ इन्चको दुई वटा पाइपबाट पानी सप्लाई गरेको थियो, त्यसलाई हामीले अर्को पाइप २० इन्चको पाइप थप गरेर हिजोबाट हामी काम शुरु गरेका छौँ । त्यसमा हामीसँग भएकै पाइप, डीआई पाइपहरू लगभग २०० मिटर र बाँकी एचडीपीई पाइप ५०० एमएम डायामिटरको त्यसलाई हामीले खरिद प्रक्रियाबाट खरिद गर्नेछौँ र त्यो लक्ष्य हामीले एक महिना भित्रै, ३ हप्ता देखि १ महिना भित्रै प्राप्त गर्छौं । त्यसबाट के हुन्छ भने हाम्रो अर्को जम्मा ४ देखि ५ करोड लिटर हामी थप गर्छौं र यो काठमाडौँ भ्यालीमा रिंगरोड भित्र मेलम्चीबाट जुन पानीको आपूर्ति बन्द छ, त्यसलाई हामीले केहि न केहि राहत दिने प्रयासमा छौँ ।’

केयुकेएलमा रहेको ठूलो परिमाणको वक्यौता असुल गर्ने प्रक्रिया अगाडि बढाइएको र मध्यपुर थिमीका केही घरहरूमा देखिएको पानीको समस्यालाई तत्काल समाधान गरिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । सडक खन्ने सन्दर्भमा स्थानीय तह तथा वडा अध्यक्षहरूसँग आवश्यक समन्वय गरेर काम गरिने समेत उहाँले स्पष्ट पार्नुभयो ।