Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्क लोगोसहित सर्टिफिकेट प्रदान


403
Shares

काठमाडाैं । थकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क सर्टिफिकेट र लोगो प्राप्त गरेको छ।

संघका अध्यक्ष विवेक तुलाचनका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि संघले उक्त लोगो प्राप्त गर्न सफलता हासिल गरेको हो । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सोमवार संघका अध्यक्ष तुलाचनलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

अध्यक्ष तुलाचनका अनुसार बजारमा थकाली नाम प्रयोग गर्ने धेरै व्यवसाय सञ्चालन भइरहेका कारण वास्तविक तथा प्रामाणिक थकाली भान्साघर छुट्याउन कठिन भएको थियो। यही अन्योल हटाई आधिकारिक थकाली भान्साघरको पहिचान स्थापित गर्न कलेक्टिभ ट्रेडमार्क प्राप्त गरिएको उहाँले बताउनुभयाे।

संघका अनुसार अब सदस्य होटल तथा रेस्टुरेन्टले आफ्नो व्यवसायमा आधिकारिक लोगो प्रयोग गर्न सक्नेछन्। साथै, लोगो प्रयोग गर्ने सदस्यले निर्धारित गुणस्तर र सेवाको मापदण्ड पालना गर्नुपर्नेछ। मापदण्ड विपरीत सेवा वा खाना उपलब्ध गराए आवश्यक कारबाही गरिने संघले जनाएको छ।

संघले कलेक्टिभ ट्रेडमार्क प्राप्त भएसँगै अब उक्त नाम र लोगो अन्य व्यक्ति वा संस्थाले अनधिकृत रूपमा प्रयोग गर्न नपाउने जनाएको छ। यसले थकाली भान्साघरको मौलिकता, विश्वसनीयता र ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउने विश्वास संघको छ।

Skip This