काठमाडौं । ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ ।
चिडियाखानामा ‘बर्ड फ्लु’ को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा प्रमुख साहमाथि छानबिन हुने भएकाे हाे । कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लु र जीवजन्तु मरेको कारणबारे छानबिन गर्न प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो ।
समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री हुनुहुन्छ । समितिलाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको हो
चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिन अघिबाटै पन्छी र जनावर मरेका भए पनि यसकाे बारेमा प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नगराएको पाइएको छ ।
चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु फेला परेको थियो ।









प्रतिक्रिया दिनुहोस्