Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


एमालेद्वारा ७७ जिल्लामा देशव्यापी जनप्रदर्शनसहित जनसभा सम्पन्न


533
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शनसहित व्यापक जनसभा सम्पन्न गरेको छ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो कार्यक्रम तेस्रो चरणको जनपरिचालन अभियानअन्तर्गत आयोजित गरिएको हो।

जिल्लास्तरका सभामा पार्टीका केन्द्रीयदेखि शीर्ष नेताहरूले सम्बोधन गरे। महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीमा तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङमा आयोजित आमसभालाई सम्बोधन गरे।

त्यसैगरी सचिव छविलाल विश्वकर्माले रुपन्देही, सचिव पद्मा अर्यालले झापाको विर्तामोड र सचिव लेखराज भट्टले कैलालीको धनगढीमा सम्बोधन गरेका छन्।

‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ मा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट तथा आगजनीमा संलग्नमाथि कारबाही, प्रतिनिधिसभा पुनःस्थापनाजस्ता मागसहित एमालेले देशव्यापी जनप्रदर्शन र सभा गरेको गौतमले बताए।

उनका अनुसार हाल मुलुकमा विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी बाटोबारे कार्यकर्तालाई अवगत गराउन पनि सभा आयोजना गरिएको हो।

यसअघि एमालेले कात्तिक २२ गते देशभरका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकामा भेला सम्पन्न गरिसकेको थियो।

Skip This