एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुग्छ : रिमाल « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुग्छ : रिमाल


3.146k
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताउनुभएको छ ।

आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उहाँले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताउनुभएको हो ।

उहाँले एमाले सरकारमा नभएमा पनि श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन आन्दोलन गर्ने बताउनुभयो । उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताउनुभयो ।

उहाँले आफूहरू सरकारमा रहेमा औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने पनि बताउनुभयो । पाँच वर्ष भित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उहाँको भनाई छ । सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रुपमा लागू हुनेपर्ने उहाँको निचोड छ ।

उहाँले सामाजिक सुरक्षा केवल श्रमिकहरूका लागि मात्रै नभई व्यवसायी र सरकारको लागि पनि भएको स्पष्ट पार्नुभयो ।