काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुंग्याउन सरकारलाई सुझाव दिनुभएको छ ।
शनिवार पार्टीको केन्द्रिय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उहाँले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिंचाईका लागि पानी छाड्ने, विद्युत व्यापारको बजार पहुँच विस्तार गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको स्वीकृति प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।
घिसिङले महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक विषय टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । पञ्चेश्वर आयोजना कार्यान्वयनले नेपाललाई दीर्घकालीन लाभ पुग्ने उहाँको भनाइ छ । त्यस्तै, पञ्चेश्वर सन्धिअन्तर्गत टनकपुरबाट पश्चिम नेपालका विभिन्न क्षेत्रमा सिंचाईका लागि पानी उपलब्ध गराउने विषय पनि टुंग्याउनुपर्ने उहाँले बताउनुभयो ।
उहाँकाअनुसार करिव २८ किलोमिटर सिंचाई नहर निर्माण भइसके पनि टनकपुर ब्यारेजबाट पानी छाडिएको छैन । आफू मन्त्री हुँदा पनि पटक–पटक यस विषयमा पहल गरेको स्मरण गर्दै घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा टनकपुरबाट पानी छाड्ने कामको उद्घाटन हुनसके सुदूरपश्चिमको कृषि तथा सिँचाइ क्षेत्रमा योगदान पुग्ने बताउनुभयो ।
घिसिङले विद्युत व्यापारलाई पनि भारत भ्रमणको महत्वपूर्ण एजेण्डा बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालको विद्युत कहिले बढी भएर खेर जाने र कहिले अपुग हुने अवस्था रहेको उल्लेख गर्दै उहाँले भारत र बंगलादेशको बजारमा विद्युत्को पहुँच थप सहज बनाउन आवश्यक रहेको बताउनुभयो ।
भारत, बंगलादेश र भुटानलगायत क्षेत्रीय बजारमा विद्युत व्यापारका लागि विगतमा भएका प्रयासलाई थप सुदृढ बनाउनुपर्ने उहाँको भनाइ छ । नेपालको विद्युत व्यापार विस्तारका लागि बजार पहुँच र त्यससम्बन्धी सहमति टुंग्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरी, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि उपयोग गर्न आवश्यक हवाई रुटसम्बन्धी सहमति भारतबाट प्राप्त गर्नुपर्ने घिसिङले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणका क्रममा उक्त सहमति प्राप्त हुन सके नेपालको हवाई क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा लामो समयदेखि थाती रहेका राष्ट्रिय महत्वका विषयहरू टुङ्ग्याउन हाम्रो पार्टीको सुझाव छ । पहिलो, महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर परियोजना कार्यान्वयनका लागि आवश्यक सहमति र प्रक्रिया टुङ्ग्याउनुपर्छ । दोस्रो, टनकपुरबाट पश्चिम नेपालका क्षेत्रमा सिंचाईका लागि पानी उपलब्ध गराउने विषयलाई टुङ्गोमा पुर्याई नहरमा पानी छोड्ने व्यवस्था गर्नुपर्छ। यसले सुदूरपश्चिमको कृषि क्षेत्रमा ठूलो योगदान पुर्याउनेछ । तेस्रो, भारत र बंगलादेशलगायतका बजारमा नेपालको विद्युत् व्यापारलाई सहज र व्यवस्थित बनाउन आवश्यक सहमति गर्नुपर्छ। विद्युत् व्यापार नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । चौथो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) को प्रभावकारी सञ्चालनका लागि आवश्यक हवाई रुटसम्बन्धी भारतीय सहमति प्राप्त गर्नुपर्छ । यी विषयहरू लामो समयदेखि प्रतीक्षामा छन् । वर्तमान सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक बनाउँदै राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडिएका यी विषय टुङ्ग्याउन पहल गरोस् भन्ने हाम्रो आग्रह छ ।’
घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणलाई लामो समयदेखि पेन्डिङमा रहेका राष्ट्रिय महत्वका विषय टुंग्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्