Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ: प्रचण्ड


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूका विरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताउनुभएको हो । उहाँले राष्ट्रिय जागरण अभियानलाई त्यसको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको उहाँको आरोप छ । दाहालले पछिल्लो राजनीतिक परिस्थितिले देशलाई अर्को दुर्घटनातर्फ लैजाने षड्यन्त्रको संकेत गरिरहेको दाबी गर्नुभयो । यस्तो अवस्थामा शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको छ । यसले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने जोखिम उत्पन्न गरेको छ । त्यसैले शान्ति सम्झौता र संविधानको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउनुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनताका अधिकारको रक्षाका लागि नयाँ सङ्कल्प र प्रतिवद्धतासहित जनतामाझ जानु आवश्यक छ । राष्ट्रिय जागरण अभियानमार्फत शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्त्व र सङ्घर्षबाट प्राप्त उपलब्धिबारे जनतालाई घरघर र टोलटोलमा पुगेर सचेत गराउनुपर्छ ।’

उहाँले देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन नयाँ संकल्प र प्रतिबद्धतासहित आन्दोलनमा उत्रिनुपर्ने बताउनुभयो । शान्ति सम्झौता र संविधानको ऐतिहासिक महत्वबारे जनतालाई जानकारी गराउन घरघर र टोलटोलसम्म पुग्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Skip This