Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


उद्यमशीलतामा लाग्न युवालाई एमाले अध्यक्ष ओलीको सुझाव


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतामा लाग्न सुझाव दिनुभएको छ ।
नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले युवाहरूलाई रोजगारी खोजेर भौंतारिनुभन्दा आफैं रोजगारी सिर्जना गर्ने उद्यमशीलतामा लाग्न आग्रह गर्नुभएको हो ।

नेशनल भोलन्टियर फोर्सले देशको रक्षा, उन्नति र प्रगतिका साथै आर्थिक विकास तथा उद्यमशीलता प्रवद्र्धनमा समेत भुमिका खेल्नुपर्ने उहाँले बताउनु भयो । युवाहरूले कृषि, सूचना प्रविधि (आईटी), साना उद्योग तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

राजनीतिमा लागेपछि निकम्मा भइन्छ भन्ने भाष्यलाई तोड्दै राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउन उहाँले युवाहरूलाई आग्रह गर्नुभयो । युवाहरूले आफ्नै कफी सप, बेकरी, टेलरिङ हाउस, फार्मेसीलगायतका व्यवसाय सञ्चालन गर्न सक्ने उहाँको भनाई छ । विदेशी वा स्थापित ब्रान्डको नाममा निर्भर हुनुभन्दा आफ्नै ब्रान्ड विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको रक्षा, देशको उन्नति, देशको प्रगति साथै आफूलाई उद्यमशीलताको बाटोबाट उद्यमीको रुपमा विकास गर्ने र देशको अर्थतन्त्रलाई अगाडि बढाउने काममा पनि भोलन्टियर फोर्सले काम गर्नुपर्छ, त्यस दिशामा पनि ध्यान दिनुपर्छ । जीविकाको क्षेत्रमा पनि काम गर्नुपर्छ, व्यावसायिक क्षेत्रमा पनि । हरेक युवालाई म आग्रह गर्न चाहन्छु, धेरै जागिर खोजेर भौंतारिने होइन, रोजगारीका अवसरहरु आफैं सिर्जना गर्नुहोस् । हामी सरकारमा हुँदा बिना धरौटी २५ लाखसम्म युवाहरुलाई दिने गरेका छौं । त्यसमा राम्रा सही खालका कार्यपत्रहरु तयार गर्नुहोस् । महिला दिदीबहिनीहरुलाई छुट्टै पनि हामीले १५ लाखसम्म दिने गरेका हौं, अत्यन्त न्यून ब्याजदरमा । त्यसलाई पनि सदुपयोग गर्नुहोस् । युवा स्वरोजगार कार्यक्रमहरु हामीले अगाडि सारेका हौं । ती कुराहरुलाई अगाडि सार्नुहोस् । राजनीतिमा लाग्दा निकम्मा हुन्छ भन्ने परिभाषालाई तपाईहरुले तोड्नुहोस् । राजनीतिमा लाग्दा निकम्मा हुने होइन, राजनीतिमा लागेर आफूलाई पनि रोजगारी हुने अरुलाई पनि रोजगारी सिर्जना हुने उद्यमशीलता हो । आजको आधुनिक प्रविधिको विकास गरेर कृषिलाई पनि अगाडि बढाउनुस्, आईटीलाई पनि अगाडि बढाउनुस्, साना उद्योगहरुलाई अगाडि बढाउनुस्, आफ्नै कफी हाउस खोल्नुस् । ३० लाख तिरेर जाभा कफी भन्नेको साइनबोर्ड टाँगिरहनु पर्दैन । राम्रो कफी बनाउन सिक्नुस् र आफ्नै जाभा भन्दा अलिक बढा लोकप्रिय हुनेगरीको जाभाको दाई, जाभाको दिदी कफी शप चाहिँ खोल्नुस् । युवाहरुको कफी शप । युवाहरुको कफी शप किन नहुने ? युवा बेकरी किन नहुने ? युवा टेलरिङ हाउस किन नहुने ? अरु विभिन्न प्रकारका युवा फार्मेसी किन नहुने ? त्यससँग सम्बन्धित साथीहरुले, त्यससँग सम्बन्धित अध्ययन गरेका साथीहरुले त्यता गर्नुहोस् । अरु विभिन्न प्रकारका उद्यमशीलताहरुको विकास गर्नुहोस्, म साथीहरुलाई सुझाव दिन चाहन्छु ।’

अध्यक्ष ओलीले युवाहरूलाई सीप र गुणस्तरमा ध्यान दिएर प्रतिस्पर्धी व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । युवाहरूले व्यक्तिगत रोजगारीमा मात्र सीमित नभई आफूले पनि रोजगारी पाउने र अरूलाई समेत रोजगारी दिन सक्ने उद्यम स्थापना गर्नुपर्ने उहाँको भनाई छ ।