
काठमाडौं । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।
समानुपातिक उम्मेदवारकाे विषयमा बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा बुधबार कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् । सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।
सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो । उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् ।
हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् । प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भएकाले कोइराला समूह त्रसित छ । नेता कोइरालासहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरू भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन् ।
दोस्रो तहका नेताहरूले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्