महिला उम्मेद्वार नआए आयोगको कमप्युटरले नै सपोर्ट नगर्ने प्रणालीको विकास गर्नुपर्छ : महिला सांसदहरु « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


महिला उम्मेद्वार नआए आयोगको कमप्युटरले नै सपोर्ट नगर्ने प्रणालीको विकास गर्नुपर्छ : महिला सांसदहरु


156
Shares

काठमाडौं । आगामी मंसिर ४ गतेको निर्वाचनमा महिला सहभागिता बढाउने विषयमा कुनैपनि पार्टीको एजेण्डा बन्न नसकेको महिला सांसदहरुले गुनासो गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै महिला सांसदहरुले यस्तो गुनासो गर्नुभएको हो । बैठकमा सांसदहरुले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलाहरुको एक तिहाई सहभागिता अनिवार्य गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरुले निर्वाचन आयोगले बनाएको आचारसंहितालाई कार्यान्वयन गर्नपनि माग गर्नुभयो । बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचनमा एक तिहाई महिला उम्मेद्वार बनाउनुपर्ने निर्वाचन आयोगको मस्यौदा जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

उहाँले स्थानीय निर्वाचनमा आयोगले बनाएको कार्यविधिमा भाषा नमिलेको बताउनु भयो । सांसद पाण्डेले आगामी निर्वाचनको लागि आयोगले कार्यविधि , निर्देशन वा आचारसंहितामा राखेर कम्तिमा सबै दलले दिएको उम्मेद्वारीमा एक तिहाई नघट्ने गरी महिलाहरुको उम्मेद्वारी दिनुपर्ने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणाली दलित समुदाय, सिमान्तकृत समुदाय,अल्पसंख्यक समुदाय र लामो समयसम्म राजनीतिक क्षेत्रमा काम गरेको अग्रज पुरुषहरु पनि संसद बन्नुपर्ने भएपनि सबैभन्दा बढी महिला मात्रै समानुपातिकबाट संसदमा पुग्दा पुरुषहरुको उपस्थिती कम भएको बताउनु भयो । उहाँले प्रदेश र प्रतिनिधि सभामा पुरुषको पनि समानुपातिक सांसद बनाउने विषयमा सबै संवेदनशील हुनुपर्ने अवस्था रहेको बताउनु भयो ।

त्यस्तै नेकपा एमालेकी सांसद विमला वि.क.ले प्रत्यक्ष निर्वाचनको लागि राजनीतिक पार्टीहरुको महिला सहभागिता बारे एजेण्डा नै बन्न नसकेको बताउनु भयो । उहाँले राजनीतिक पार्टीहरुले आफ्नो सरकार आउँदा लोकल रक्सिलाई ब्राण्डेट बनाउने र सडक कालोपत्र गर्ने योजना बनाएपनि पार्टीबाट यति प्रतिशत महिला उम्मेद्वार बनाउँछौं भन्ने एजेण्डा बन्न नसकेको बताउनु भयो ।

उहाँले कुनै पार्टी पार्टीको शीर्ष नेताले आफ्नो पार्टीले खुलातर्फ २० प्रतिशत महिलाहरुलाई उम्मेद्वार बनाउँदैछौं भनेर भाषण गरे अर्को पार्टीले २२ प्रतिशत वा ३० प्रतिशत घोषणा गर्ने बताउनु भयो । सांसद वि.क.ले निर्वाचन आयोगको आचारसंहिता अनुसार महिला उम्मेद्वार नआए आयोगको कमप्युटरले नै सपोर्ट नगर्ने प्रणालीको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचन प्रणाली महँगो भएको गुनासो गर्नुभयो ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले अहिलेको निर्वाचन प्रणाली निष्ठापूर्वक राजनीतिक गर्नेको पक्षमा नभएको बताउनु भयो । उहाँले निष्ठाको राजनीतिक मात्रै गर्ने र अन्य गतिविधिमा सहभागीता नगर्नेहरुको लागि निर्वाचन लड्न गाह्रो रहेको बताउनु भयो । सांसद शर्माले यस्ता नेताहरुले निर्वाचनदेखि भाग्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

सांसद शर्माले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलाको सहभागिता बडाउने विषयमा सबैको एकमत रहेको बताउनुभयो ।