नेपालका प्रतिष्ठित औद्योगिक घरानाको वैदेशिक लगानी अपारदर्शी « Image Khabar


नेपालका प्रतिष्ठित औद्योगिक घरानाको वैदेशिक लगानी अपारदर्शी


0
Shares

काठमाडौं । कर व्यवस्था सहज भएका मुलुकमा कम्पनी खडा गरेर अपारदर्शी आर्थिक कारोबारमा नेपालका प्रतिष्ठित औद्योगिक घरानाको संलग्न रहेको दाबी गरिएको छ ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकहरुमा अफ्शोर अर्थात नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्रीमा कम्तिमा १६ नेपालीको प्रत्यक्ष संलग्नता रहेको दाबी प्यान्डोरा पेपर्सले गरेको हो ।

खोज पत्रकारहरुको विश्व संजाल ‘आईसीआईजे’ सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर हिजो प्रकाशन गरिएको प्रतिवेदनमा १६ जना नेपालीको नाम समावेश छ ।

नेपालका दुई ठूला व्यापारिक घराना–चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरूको समेत त्यस्तो लगानी रहेको दाबी उक्त पेपरमा गरिएको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके) नेपाललाई उपलब्ध कागजात अनुसार नेपालका अर्बपति सांसद विनोद चौधरी र उनको परिवारका सदस्यहरुले ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरिरहेका छन् ।

यस्तै अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । त्यसैगरी अजयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर राणाको लगानीमा पनि विदेशी कम्पनीहरू सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।