बुटवल ।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।
तीनदिनदेखि सम्पर्कविहीन रहेका ६५ वर्षीय सिंहको शव कपिलवस्तुको तिलौराकोट सामुदायिक वन क्षेत्रमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो ।
सिंह तौलिहवा–गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबार साँझ ५ बजेदेखि सम्पर्कविहीन भएका थिए । सिंहको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो ।
खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब ८ किलोमिटरभित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गरेको मोटरसाइलक भेटिएको थियो । त्यसपछि स्थानीय र सुरक्षाकर्मीले खोज्ने क्रममा सिंहको शव फेला परेको थियो । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानूनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३, ढेवानगढिया निवासी सिंह २०७४ सालमा कांग्रेसबाट नगर प्रमुख पदमा विजयी भएका थिए । २०५४ सालमा कांग्रेसबाट सिंह नगर उपप्रमुखमा विजयी भएका थिए । ०७९ को स्थानीय निर्वाचनमा भने नगर प्रमुख पदमा पराजित सिंह ढकेरीमा व्यावसायिक कृषि फर्म खोल्ने तयारी गर्दा यो जंगलमा आउनेजाने गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्