Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


धरान औद्योगिक क्षेत्रमा निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द

५ नयाँ उद्योग थपिए

13
Shares

काठमाडौं । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी ५ नयाँ उद्योग थपिएका छन् ।

नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको हाे । साेही उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले बताउनुभयाे ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थप गरेको उहाँकाे भनाइ छ ।

नयाँ थपिएका उद्योगहरू प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका हुन् । सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बञ्जाडेले बताउनुभयाे ।

प्रमुख बञ्जाडेले नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको समेत बताउनुभएकाे छ।