Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा


598
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकबारे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे छ ।

यसअघि पटक–पटक स्थगित हुँदै मंसिर ४ गते बोलाइएको बैठक समेत सारेर आजका लागि तोकिएको हो। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ।

असोज २८ गतेदेखि निरन्तर छलफल हुँदै आएको बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने मुख्य एजेन्डामा नेताहरूबीच मतभिन्नता देखिएको छ। महासचिवद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि नै पुसभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा अडिग छन्।

तर सभापति शेरबहादुर देउवा पक्ष भने निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ। नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था भए करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको चाहनाअनुसार ‘विशेष महाधिवेशन’ गर्नुपर्ने माग थापा–शर्मा समूहले उठाउँदै आएको छ।

केन्द्रीय सदस्यहरूको औपचारिक बोल्ने क्रम कात्तिक २७ गते नै सकिएको भए पनि सहमति खोज्ने उद्देश्यले अनौपचारिक छलफल जारी राखिएको र बैठक पटक-पटक सारिँदै आएको पार्टी स्रोतको भनाइ छ।