Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रहरणमा प्रमुख दलहरु असन्तुष्ट


767
Shares

काठमाडाैं ।

मधेशमा नयाँ सरकारको गठनप्रति प्रमुख दलहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद भएको र नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटनाका रुपमा टिप्पणी गर्नुभएको छ ।

मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा एमाले भित्रै पनि असन्तोष देखिएको छ ।

दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई प्रमुख सचेतक हरिनारायण महतोले सचेत समेत गराएकोमा त्यो नभएपछि एमालेमा असन्तुष्टि देखिएको हो ।

संविधानको १६८ को उपधारा ३ बमोजिम नै एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक महतोले ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिनुभएको छ । यस घटनाबारे दलमा बसेर छलफल गर्ने उहाँकाे भनाइ छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएकाे छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिनुभएको हो । एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएलगत्तै राप्रपा सांसद कन्चन बिच्छा मन्त्री नियुक्त हुनुभएको थियो ।

अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको जनाउँदै तत्काल सरकारबाट फिर्ता हुन दिएको निर्देशन पालना नगरे विधान बमोजिम कारवाही हुने जनाउनुभएको छ ।