Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


मतपत्र छाप्न तयारी अवस्थामा छौं : जनक शिक्षा सामग्री


221
Shares

काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न तयारी अवस्थामा रहेको जनाएको छ । केन्द्रले सेक्युरिटी प्रेसमा रहेका मेसिन पुराना भए पनि मर्मत गरेर मतपत्र छपाइ गर्ने जनाएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले २०६४ सालमा निर्वाचन आयोगले अनुदानमा दिएको दुईवटा र केन्द्रले खरिद गरेको एउटा वेव मेसिनले मतपत्र छपाइ गर्ने जानकारी दिँदै भन्नुभयो– ‘हामी पुरानै मेसिन भए पनि मतपत्र छाप्न तयारी अवस्थामा छौं, निर्वाचन आयोगले पत्र दिनुप¥यो । मौखिक जानकारी पाएका छाैं, लिखित नआएसम्म कुनै निर्णय गर्न सकिँदैन ।’ उहाँका अनुसार करिब दुई साताअघि आयोगको टोलीले अनुमान गरी तयारी अवस्थामा रहन जानकारी दिएको बताउनुभयो ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायण भट्टराईसहितको टोलीले केन्द्र अनुगमन गरेको थियो ।यसै गरी केन्द्रले आयोगसँग लिखित पत्र माग्ने तयारी गरेको छ । मेसिन मर्मत, कच्चा पदार्थ खरिद र मतपत्र छपाइ व्यवस्थापन गर्न समय लाग्ने भएकोले आयोगको पत्रको प्रतिक्षामा केन्द्र रहेको छ । केन्द्रका प्रवक्ता राम कुँवरले लिखित पत्र आउनासाथ केन्द्र जुनसुकै अवस्थामा मतपत्र छाप्न तयार रहेको बताउनुभयो । केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी उच्चअधिकारीले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

केन्द्रले फागुन २१ मा हुने आमनिर्वाचनमा पुसभित्र करिब २ करोड बढी मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ । केन्द्रले छपाइसँगै मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । प्रवक्ता कुँवरले पुस महिनाको अन्त्यबाट छपाइ सुरु हुनसक्ने बताउनुभएको छ । आयोगले दल दर्ता सकेर चुनाव चिह्न दिएपछि पहिलो समानुपातिकतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ । केन्द्रका अनुसार संघअन्तर्गत १ सय ६५ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मतपत्र छपाइ गर्नेछ । त्यसै गरी प्रदेशको समानुपातिक र प्रत्यक्षमा मतपत्र छपाइ गर्नेछ ।

केन्द्रले उपत्यकाबाहेक अन्य जिल्लाको लागि पहिलो चरणमा मतपत्र छाप्ने र ढुवानी गर्नेछ । त्यसपछि उपत्यका र वागमती प्रदेशको जिल्लाको मतपत्र तयार गर्नेछ । आयोगले कर्णालीका अतिदुर्गम मतदान केन्द्रमा हवाईमार्गबाट ढुवानी गर्नेछ । मतपत्र छाप्न करिब १ सय ७५ कर्मचारी खटाइने गरी तयारी थालेको छ ।

केन्द्रले यसअघि पछिल्लो समय २०६४, दोस्रो संविधान सभाको निर्वाचन २०७० सालमा मतपत्र छापिसकेको छ । त्यस्तै, २०७४ प्रतिनिधिसभा, २०७९ सालको प्रतिनिधि र स्थानीय तहको निर्वाचनको मतपत्र पनि छपाइ गरिसकेको छ ।