Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


मधेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न दावी पेश


1k
Shares

जनपुरधाम। मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको छ।

कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधबार कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति अनुरुप प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीको संसदीय दलका नेताको नेतृत्वमा पुगेको प्रदेश सभा सदस्यहरुको टोलीले प्रदेश प्रमुख सुमित्रा सुवेदी प्रदेश बाहिर रहेकाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार गठनकालागि दावी पेश गरेको हो ।

बहुमतका मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारलाई दिएको समर्थन कांग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि आफूहरुले सोही अनुरुप नयाँ सरकार गठनका लागि दावी पेश गरेको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिनुभयो । जेनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल मार्फत राजीनामा दिइसक्नुभएको अवस्थामा राजीनामा दिन तयार नभएपछि उत्पन्न परस्थितिलाई समाधान गर्नका लागि आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार गठनको प्रक्रियामा अगाडि बढेको एमाले संसदीय दलका नेता सरोज यादवले बताउनुभयो ।

केही अवधिका लागि जनमतले सरकारको नेतृत्व गर्ने र त्यसपछि सरकारको नेतृत्वका लागि कांग्रेसलाई दिने सहमति भएपनि मुख्यमन्त्रीले सोही सहमति पालन गर्न अग्रसर नदेखिएपछि आफूहरु नयाँ शिराबाट सरकार गठनतर्फ लागेको जनमत पार्टीको संसदीय दलका नेता महेश यादवले बताउनुभयो ।

कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि १ सय ७ सदस्यीय प्रदेश सभामा कांग्रेस, एमाले र जनमत पार्टीका ५८ प्रदेश सभा सदस्यहरुको समर्थनमा दावी पेश गरिएको हो ।