
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुमा बस्नु भएकाे छ।
गत भदाै २३ र २४ गते जेनजी युववा पुस्ताकाे आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली सेनाकाे सुरक्षा घेरामा पस्नुभएका ओली गत हप्तादेखि गुण्डुमा भाडाकाे घरमा बस्नुभएकाे हाे । अध्यक्ष ओली शनिबार पहिलो पटक गुण्डुबाटै सार्वजनिक कार्यक्रममा देखिनुभयो । सामाजिक सञ्जाल बन्द गरेर जनताको असन्तुष्टि रोक्न खोजेको सरकारमाथि सुशासन समेत कायम गर्न नसकेको भन्दै भएको आन्दोलनले सरकारबाटै बर्हिगमनको बाटोमा ल्यायो
समकालीन राजनीतिक दलका नेताहरुका कारण नागरिकमा देखिएको असन्तुष्टिले निम्त्याएको जटिल परिस्थितिमा पनि जिम्मेवार नेताहरु गम्भिर देखिएका छैनन । अझ अहिले घटना निम्त्याउन जिम्मेवार देखिएका तत्कालिन प्रधानमन्त्री ओली ७५ जना नागरिकको मृत्यु हुने गरी भएको घटनामा जानकार नै नभएको जस्तो गरी प्रस्तुत हुनुभएकाे छ। ओलीको पुरानो शैलीमा परिवर्तन नआउने छनकले नेपालको राजनीति अझ जटिल हुने आशंका बढाएको हाे ।
सरकार प्रमुखका रुपमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने थियो । कानूनी रुपमा दोषी देखिए छानविनको दायरामा ल्याउनु पर्ने वा नपर्ने भन्ने सिफारिस सरकारले गठन गरेको आयोगले गर्ला । तर, आन्दोलन पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले भने आन्दोलन कसरी हिंसात्मक भयो भन्ने नै आफूलाई थाहा नभएको दावी समेत गर्नुभएकाे छ। यति मात्र होइन अब पनि देशलाई ठिक दिशामा हिडाउन एमाले नै चाहिने, होहल्लाबाट आएको सरकारलाई विश्वास गर्न नसकिने र अहिलेको घटनाको जिम्मा पनि नलिने शैलीमा प्रस्तुत हुनुभयो।
प्रधानमन्त्रीबाट राजीनामा दिएपछि मात्रै सुरक्षाकर्मीले उद्दार गर्नुपर्ने स्थिति गत भदाै २३ गते आन्दोलनमा उत्रिएका युवाहरु माथि ज्यानलिने गरि गोली हान्ने विषयलाई समेत उहाँले गम्भिरताका साथ लिएको देखिएन । तत्कालिन सरकार प्रमुखका रुपमा पनि उहाँले त्योतर्फ ध्यानदिनुपर्ने थियो । संसदको पहिलो दल नेपाली कांग्रेसको समर्थन दुई तिहाइको सरकारको नेतृत्व गर्नुभएका ओलीले आफूले सरकारको नेतृत्व गर्दा सबै ठिक थियो जस्तो गरि प्रस्तुत हुनुुले पछिल्लो परिस्थितिलाई नजर अन्दाज गरेको देखिन्छ ।
सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म जल्ने स्थीति बन्नु जनताले उठाएका आवाज सुन्न नखोज्नु र शासकीय दम्भ देखाएकै कारण भएको थियो । त्यसको जिम्मेवारी तत्कालिन सरकार प्रमुखका रुपमा ओलीले लिनैपर्ने हुन्छ । तर आफू माथि उठेका प्रश्नहरुलाई पन्छ्याएर सामान्य परिस्थितिमा जस्तै गरि ओली अगाडि बढ्न खोज्नुभएको छ । सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ दिनुपर्ने नैतिक जिम्मेवारीमा ओली देखिनुहुन्न । प्रधानमन्त्रीले न गोली चलाउछ न आदेश दिन्छ, भन्दै त्यसको जिम्मेवारी जसले गोली चलायो त्यसैले लिनुपर्ने भनेजस्तो गरि ओली प्रस्तुत हुनुभएको छ ।
प्रधानमन्त्रीको कुर्सीमा बस्ने तर परिस्थितिको सामान्य आंकलन वा सूचना समेत लिन नसक्नु पनि तत्कालिन सरकारको कमजोरी हो । तर ति कुनै पनि विषयमा ओलीले चासो राखेको देखिएन । जसले गर्दा पुराना नेताहरु जुनसुकै परिस्थिति आहोस मिलेसम्म शक्तिबाट पछाडि नहट्ने मनस्थितिमा देखिएका छन्। ओलीको पहिलो सार्वजनिक अभिव्यक्तिले पार्टीभित्र समेत आफू पुरानै तरिकाले अगाडि बढ्न चाहेको स्पष्ट संकेत गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्