Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


राज्यका सबै अंगलाई स्वार्थको आज्ञाकारी निकाय बनाइँदैछः प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी, कर्मचारीतन्त्रलगायत राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिले राम्रो कार्यसम्पादन गरे पनि उनीहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ कि हुँदैन भन्ने आधारमा व्यवहार गरिने अवस्था रहेको बताउनुभयो ।

लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था भएको उल्लेख गर्दै ज्ञवालीले जनमत प्राप्त गरेको सरकारले पनि लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको पालना गर्नुपर्ने बताउनुभयो । प्रतिनिधि सभाबाट आवश्यक कानून पारित गर्नसक्ने अवस्था हुँदाहुँदै सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै उहाँले यसले मुलुकलाई असहज परिस्थितितर्फ धकेलेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईं प्रहरीको हाकिम हुनुहोस्, तपाईं कर्मचारीको अगुवा हुनुस्, तपाईंले राम्रो पर्फमेन्स गरेर भएन । तपाईंका पर्सनल इन्ट्रेस्टहरु सर्भ हुन्छन् की हुँदैनन् । अर्थात् राज्यका सबै अंगहरुलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी एउटा निकायको रुपमा रुपान्तरित गर्नेगरी अत्यन्त अनुत्तरदायी शासन व्यवस्था झेल्न हामी अहिले बाध्य छौँ । लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको व्यवस्था हो । ठिक छ, उहाँहरुले जनमत पाउनुभएको छ । हामी सबैले स्वीकार गरेका छौँ । प्रतिनिधि सभाबाट कानून पास गर्न केले छेकेको छ । जस्तोसुकै कानून पास गर्न सक्नुहुन्छ । राष्ट्रिय सभामा उहाँहरुको प्रतिनिधित्व छैन होला । तर नियमावलीले नै भन्छ, दुई महिनाभित्र त्यो ऐन फिर्ता गर्नुपर्छ । संशोधन गर्ने हो भने पनि मान्ने की नमान्ने भन्नेकुरा जुन सदनबाट उत्पत्ति भएको छ, त्यो सदनको अधिकारको कुरा हो । फटाफट कानून पास गर्नसक्ने स्थितिमा हुनुहुन्छ । त्यो बाटो लिनुहुन्छ, अध्यादेशबाट शासन चलिरहेको छ । अत्यन्त अफ्ठ्यारो स्थितिबाट मुलुक गइरहेको छ ।’

नेता ज्ञवालीले दण्डहीनतालाई निरन्तर प्रश्रय दिइए प्रत्येक १० वर्षमा हिंसा र विध्वंशका माध्यमबाट सत्ता परिवर्तन गर्ने गलत नजिर स्थापित हुने चेतावनी दिनुभयो । नेपालले शान्तिपूर्ण आन्दोलनबाट २४० वर्ष लामो राजसंस्थाको अन्त्य गरेको र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेको उदाहरण प्रश्तुत गर्दै उहाँले नेपालले विगतमा शान्तिपूर्ण राजनीतिक परिवर्तनको दृष्टान्त स्थापित गरेको बताउनुभयो ।

गत वर्ष हिंसा र विध्वंशको बाटोबाट सत्ता परिवर्तन भएको भन्दै उहाँले त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न नसकिने बताउनुभयो । निर्वाचनमा आफ्नो पार्टीलाई शुन्य सिटमा झार्न सकिने तर त्यसका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको उहाँको भनाइ छ । अहिले एमाले २५ र नेपाली काँग्रेस ३८ सिटमा रहेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट पराजित भएपनि पाँच वर्ष कुर्न तयार रहेको बताउनुभयो । तर कानून हातमा लिएर देशका महत्वपूर्ण संरचनाहरू जलाउने र मुलुकलाई खरानी बनाएर गरिने परिवर्तनलाई कुनैपनि हालतमा उचित ठहर्‍याउन नसकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदी हामीले दण्डहिनतालाई यसैगरी छुट दिँदै गयौँ भने हरेक १० वर्षमा आगो लगाएर सत्ता परिवर्तन गर्ने, मान्छे मारेर सत्ता परिवर्तन गर्ने एउटा नजिर बस्नेछ । त्यो लोकतन्त्रका लागि साह्रै खतरनाक विषय हुनेछ । नेपालले दुई वटा असाध्यै राम्रो दृष्टान्त स्थापित गरेको थियो । २४० वर्ष लामो राजसंस्थालाई १९ दिन लामो शान्तिपूर्ण आन्दोलनबाट अन्त्य गरेका थियौँ । जनतामा त्यो शक्ति छ, जनता जुरुक्क उठे भने शान्तिपूर्ण बाटोबाट पनि ठूला ठूला परिवर्तन स्थापित गर्न सकिन्छ भन्ने उदाहरण हो । र अर्को १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेका हौँ । यही देशमा गत वर्ष हिंसाको बाटोबाट, विध्वंशको बाटोबाट सत्ता परिवर्तनको नराम्रो नजिर बस्यो, हामी विस्थापित हुनुपर्‍यो भन्ने चिन्ता होइन । चुनावबाट हामीलाई जिरो सिटमा पनि झार्न सकिन्छ, अहिले हामी २५ मा छौँ । काँग्रेस ३८ मा छ । चुनावबाट हराइदिनुस् न । जिरोमा हराइदिए अर्को पाँच वर्ष कुर्न तयार छौँ । तर कानून हातमा लिएर देशका धरोहरहरु जलाएर, देशलाई खरानी बनाएर गरिने परिवर्तनलाई जस्टिफाइ गर्न मिल्दैन, सकिँदैन । हेर्ने दृष्टिकोण फरक फरक होला । भदौ २३ र २४ मा देशमा राष्ट्रिय भावनाको कोषलाई उल्ट्याउने गरी घटना भयो ।’

भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय भावनाको आधारलाई नै उल्ट्याउने अवस्था सिर्जना गरेको टिप्पणी गर्दै ज्ञवालीले राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंशलाई वैधता दिन नहुनेमा जोड दिनुभयो ।