Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छः प्रचण्ड


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकतावद्ध गर्ने अभियानलाई अझै तिबव्र बनाउने बताउनुभएको हो । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उहाँको भनाइ छ ।

एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै दाहालले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताउनुभयो । उहाँले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रश्ताव र नेकपा मसालसँग दुईबुँदे प्रश्ताव अघि सारिएको जानकारी दिँदै अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको बताउनुभयो । विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्नसके मात्रै देशमा देखिएका समस्याको समाधान गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्ने प्रक्रिया चलिरहेको छ । हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन । अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरुलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ । हामीले विगतमा पनि नेपालमा समाजवादी निर्माणको निम्ति जसरी वामपन्थी जनमतको निकै ठूलो बाहुल्य छ, त्यसलाई एक ठाउँमा ल्याएर मात्रै साँचो अर्थ र व्यवहारिक अर्थमा समाजवादको ढोका खोल्न सकिन्छ भनेर एकताको झण्डा नउठाएको होइन । तर त्यसलाई बचाउन सकिएन । एक पटक असफल भयो भन्दैमा फेरि पनि प्रयास नै नगर्ने भन्ने हुन सक्दैन । हामी अहिले पनि फेरि कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित यहाँसम्म आएका छौँ । हामी केन्द्रमा आशावादी छौँ, तपाईंहरु सबैले तल पनि सामुहिक प्रयास गर्नुपर्छ । विभिन्न पक्षसँग सहकार्यमा नै छौँ । त्यो सहकार्य र कार्यगत एकताको प्रक्रियालाई अघि बढाउँदै लैजाने र विचार, राजनीति र सिद्धान्तमा एकरुपता कायम गर्दै एकताकै झण्डामा केन्द्रित गर्ने र मात्रै देशमा देखापरेका समस्याहरुको समाधान गर्न सकिन्छ । एमालेसँग तीन बुँदे सहकार्यको प्रश्ताव गर्दैगर्दा वा नेकपा मसालसँग दुई बुँदै प्रश्ताव गर्दैगर्दा लगातार नै अन्य पक्षसँग पनि छलफल गरिरहेका छौँ । यो प्रक्रिया अघि बढिरहेको छ ।’

संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । दाहालले अन्तर्राष्ट्रिय शक्तिसँगको संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महशुस गर्दै अन्तर्राष्ट्रिय भुमिकालाई निरन्तर अघि बढाइरहेको पनि बताउनुभयो ।

दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू विघटन हुँदै गएको उल्लेख गर्दै उहाँले विश्वमा नयाँ मान्यता र संरचना निर्माणका लागि ध्रुवीकरणको लहर चलिरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नेपालले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज देशमा देखापरेको राजनीतिक संकटलाई हेर्दा यत्तिले पनि पुग्दैन भनेर हामीले शान्ति सम्झौता, संविधान सभाका सहयात्रीसँग पनि मोर्चा बनाउनेकुरालाई पनि त्यत्तिकै महत्व दिएर छलफल गरिरहेका छौँ । त्यो छलफल पनि सकारात्मक ढंगले, रचनात्मक ढंगले अघि बढाएका छौँ । त्यसमा आशाप्रद प्रगति हुँदैछ । शान्तिका पक्षधर, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीका पक्षधर, एकताका पक्षधर सबै सहयात्रीसँग सहकार्य गर्ने उद्देश्यका साथ सकारात्मक ढंगले वार्ता र संवादतर्फ अघि बढ्न अपिल गर्न चाहन्छु । हामी सबैले देशभरबाट पहल गर्दा म के देख्छु भने हामी त्यसमा पनि एउटा मोर्चा बनाउन सफल हुनेछौँ ।’

संयोजक दाहालले अन्तर्राष्ट्रिय शक्तिसँग संवाद बनाइ अघि बढाउने कुरामा आफूहरु चुकेको महशुस गरेर अन्तर्राष्ट्रिय भुमिकालाई निरन्तर अघि बढाइरहेको जिकिर गर्नुभयो । दोस्रो विश्वयुद्धपछि निर्माण भएका संरचनाहरु, मान्यताहरु विघटन भइरहेको बताउनुभयो । नयाँ मान्यता र संरचना बनाउन विश्वमा धुर्वीकरण लहर चलेको बताउनुभयो ।