काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाउनुभएको छ ।
सरकार गठन भएको नौ महिना बितिसक्दा पनि मुलुकको अवस्था सुधार हुन नसकेको उल्लेख गर्दै उहाँले न्यायपालिका, व्यवस्थापिका र प्रहरी प्रशासन कमजोर बनाइएको दाबी गर्नुभएको हो । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजामती कर्मचारीमा त्रासको वातावरण रहेको र सयौँ कर्मचारीले राजीनामा दिएको बताउनुभयो ।
कानूनी राज्यको अवधारणाविपरीत व्यक्तिगत शासनको अभ्यास भइरहेको उहाँको आरोप छ । खतिवडाले पछिल्लो समय नागरिकले आफ्ना विचार र असहमति खुलेर व्यक्त गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । सरकारविरुद्ध नारा लगाउने व्यक्तिलाई समेत दबाबमा पारेर बयान दिन लगाउने अवस्था आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकार निर्माण भएको नौ महिना भयो । वर्तमान अवस्थामा गर्नुपर्ने कुरा के भएको छ ? अहिले मुलुकमा संविधानले चिनेका मानिसले शासन गरेका छैनन् । संविधानले नचिनेका मानिसहरुले शासन गर्ने पद्धतिको विकास भएको छ । न्यायपालिकामा हाइजम्प, लङजम्प शुरु भयो । व्यवस्थापिकाप्रति बेवास्ता भएको छ । निजामति कर्मचारीमा सयौँ कर्मचारीले राजीनामा दिएका छन्, त्रासको वातावरण छ । न्यायपालिका र व्यवस्थापिका मात्रै होइन, प्रहरी प्रशासन ध्वस्त भएको छ । कानूनी राज्यका ठाउँमा व्यक्तिगत राज्य र संविधानले नचिनेका मान्छेले राज्य गर्ने क्रम विकास भएको छ । हामी बोल्न डराएका छौँ । गुरु लुइँटेल भइन्छकी भनेर डराएका छौँ । अहिले कुनै व्यक्तिले मुर्दावाद र जिन्दावाद भन्यो भने कालोपट्टि लगाएर यसका विरुद्धमा बयान दे भन्ने अवस्था आएको छ ।’
सहमहामन्त्री खतिवडाले संविधान निर्माण गर्दा शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्