
काठमाडाैं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीबार आयोगमा निवेदन दिएको जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार सो पार्टीको दर्ता नम्बर ४ सय ७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उहाँको भनाइ थियाे ।नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुककाबीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उहाँले बताउनुभयो ।
देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशिलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरु भेला भएर एक मूलधारको राजनितिक दल स्थापना गरिएको उहाँले बताउनुभएकाे छ। उहाँले भन्नुभयो,-‘हामी निर्वाचन आयोगमा आएर नेपाल नागरिक पार्टी दर्ता गर्नको लागी निवेदन दिएका छौं । हाम्रो दर्ता नम्बर ४ सय ७७ रहेको छ । यसको पुरै प्रक्रिया पूरा हुन केही समय लाग्छ । हामी निरन्तर प्रक्रियामा रहन्छौं ।’
राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताउनुभयो । २१ औं शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उहाँको भनाइ छ । राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्