१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


काठमाडौंकाे हनुमानढोका दरबारकाे दशैं घरमा फूलपाती भित्र्याइयाे


364
Shares

काठमाडौं । नेपालीहरुकाे महानपर्व दशैंको सातौं दिन आज (आइतबार) गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंकाे ऐतिहासिक हनुमानढोका दरवारको दशैं घरमा भित्र्याइएको छ ।

गोरखा दरबारबाट निकालिएको फूलपाती जमलबाट बाजागाजासहित दशैं घरमा भित्र्याइएको हो । नक्शाल चोकमा वैदिक रुपमा पूजा गरेर मूलचोकमा कालो बोका बली दिएर तान्त्रिक रुपमा फूलपातीमा पूजाआजा गरिएको थियो ।

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेकाे छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमानढोका दरबारमा ल्याउने प्रचलन सुरु भएको हो।