२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्मला बलात्कार–हत्या प्रकरणः आधादर्जन छानबिन टोली, उपलब्धि शून्य


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, पुस १३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बितिसकेको छ ।

घटनाको छानबिनका लागि आधादर्जनभन्दा बढी टोली गठन पनि गरियो । तर, अहिलेसम्म वास्तविक दोषीको पहिचान हुन सकेको छैन । बरु, अनुसन्धान थप जटिल बन्दै गएको छ ।

घटनाको पाँचौं दिन अनुसन्धानमा तत्कालीन प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै आलोचना भएपछि सीआइबीले डीएसपी अंगुर जिसी नेतृत्वको टोलीलाई अनुसन्धानका लागि खटायो ।

वास्तविक अपराधी जोगाउन निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै तत्कालीन प्रहरी प्रमुखसँगै डीएसपी जिसीसमेत निलम्बनमा परे ।

जिसी निलम्बनमा परेपछि एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीलाई घटनाको अनुसन्धान गर्न लगाइयो ।

बढुवा भएर ज्ञवाली काठमाडौं फर्किएपछि अहिले एसपी सुदीप गिरी नेतृत्वको टोलीले छानबिन गरिरहेको छ ।

यससँगै कारागार विभागका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समिति र प्रहरीमाथि छानबिन गर्नका लागि एआइजी धीरु बस्न्यात नेतृत्वको छानबिन समितिले प्रतिवेदन प्रतिवेदन पेस गरिसकेका छन् ।

यहीबीचमा एसपी दुर्गा सिंह नेतृत्वको टोली पनि अनुसन्धान गरेर काठमाडौं फर्किसकेको छ ।

अर्कोतिर निर्मलाकी आमा दुर्गादेवी पन्तले अनुसन्धानमा संलग्न तत्कालीन प्रहरीविरुद्ध जाहेरी दिएको पनि ११ दिन बितिसकेको छ ।

प्रहरीमाथि नै अनुसन्धान गर्नुपर्ने भएकाले कसरी अगाडि बढ्ने भन्नेमा अहिले प्रहरी नै अन्योलमा छ ।

उजुरी दिएकामध्ये दुईजना प्रहरी अधिकारी भने बर्खास्त भइसकेका छन् ।

पहिलो मुद्दा भएकाले अनुसन्धानमा अलमल भएको बताउने प्रहरीले प्रहरी निरीक्षक मणिराम भट्टलाई अनुसन्धान अधिकृत तोक्नेबाहेक अरु केही गर्न सकेको छैन ।

प्रहरीविरुद्धको मुद्दा दायर गरेकाले प्रारम्भिक प्रतिवेदनका लागि सरकारी वकिलको कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

सरकारी वकिल काठमाडौंमा रहेकाले कन्चनपुर फर्किएपछि उनको रायअनुसार अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।