Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


खैरो हेरोइन कारोबारमा संलग्न ९ जना पक्राउ, ३९४ ग्राम बरामद


0
Shares

काठमाडौं । भारतबाट मधेश प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म लागूऔषधको कारोबार फैलाएको आरोपमा नौ जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोले गरेको अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको साथबाट ३९४ ग्राम १०० मिलिग्राम खैरो हेरोइन, नगद २ लाख ५४ हजार रुपैयाँ र लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु दुई थान बरामद भएको छ ।

ब्युरोले उपत्यकामा लागूऔषध कारोबार हुन सक्ने स्थान तथा यसमा संलग्न व्यक्तिहरूको गतिविधिमाथि निगरानी र प्रोफाइलिङ गरी वैशाख ३ देखि ५ गतेसम्म विभिन्न स्थानमा कारबाही चलाएको थियो । सोही क्रममा भारतबाट धनुषा र सिरहासहित मधेश प्रदेशका जिल्लामार्फत काठमाडौंसम्म लागूऔषध पुर्‍याउने मुख्य व्यक्तिसहित नौ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंका ४२ वर्षीय रञ्जन थापा, सिन्धुलीका ३४ वर्षीय देवराज बम्जन, २२ वर्षीय निशान बम्जन र ३२ वर्षीय विशाल मोक्तान रहेका छन् ।

त्यस्तै, काठमाडौंका ३५ वर्षीय पदमबहादुर तिमिल्सिना, धनुषाका ५५ वर्षीय लक्ष्मण पण्डित दास तत्मा, तनहुँका २८ वर्षीय शैलेन्द्र बजगाईं, गोरखाका २५ वर्षीय सिजन रेमी र सिरहाका २९ वर्षीय विवेककुमार साह पनि पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । पक्राउ परेकामध्ये विशाल मोक्तानलाई सिन्धुलीबाट लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाइएको छ ।