
काठमाडौं, पुस ६ । काठमाडौं महानगरपालिका–६, बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ युआनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीद्वारा बिहीबार राति जाँचकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।
छिरिङ दोर्जेले चलाएको बा६४प ११०९ नम्बरको स्कुटर जाँच गर्नेक्रममा स्कुटरको डिकीभित्र अन्दाजी डेढ किलो सुनजस्तो पहेंलो धातुको बुद्धको मूर्ति एकथान तथा स्कुटरमा सवार चिनियाँ नागरिक पञ्चाउडीले बोकेको झोलामा युआन र नेपाली रुपैयाँ फेलापारिएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ
यता, धारिलो हतियार प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३, ओमबहाल बस्ने २६ वर्षीय दीपेश लम्साललाई प्रहरीले पक्राउ गरेको छ ।
लम्सालमाथि काठमाडौं महानगरपालिका–२१, ढुंगेधारा बस्ने २७ वर्षीय रामकृष्ण मानन्धरलाई बिहीबार धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोप छ ।
एक लाख बराबरको धनमाल चोरी
यसैबीच, काठमाडौं महानगरपालिका–२९, घट्टेकुलो डेरा गरी बस्ने इलाम, देउमाई नगरपालिका–४ का ३२ वर्षीय सविन भट्टराईको कोठाबाट बिहीबार सुनका विभिन्न गरगहना, ल्यापटप एकथान र रु २२ हजारसहित करिब रु एक लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागढुंगाबाट शुक्रबार बिहान प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
कन्चनपुरको कृष्णपुर नगरपालिका–८ का २० वर्षीय किरण ऐरलाई अवैध लागुऔषध चरेस ५० ग्राम तथा नियन्त्रित लागुऔषध नाइट्रोभेट १२२ एम्पुल, स्पास १६ पिस र डाइलेस दुई बोतलसहित बिहान प्रहरीले पक्राउ गरेको हो ।
कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ७४५९ नम्बरको बस जाँच गर्नेक्रममा लुकाइ–छिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषधसहित ऐरलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
खैरो हेरोइनसहित तीनजना पक्राउ
यता, काठमाडौं महानगरपालिका–२६, सामाखुसीबाट लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका–१ घर भएकी २१ वर्षीया वर्षा कुँवर, २२ वर्षीय भुवन कार्की र २४ वर्षीय अनिल जोशी रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार उक्त लागुऔषधसहित फेलापारेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्