
गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, पुस २ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न गठित नेपाल प्रहरीका एआइजी धीरु बस्नेतको टोलीले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ ।
गत भदौ ३१ गते गठित अनुसन्धान टोलीले ४६० पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा अनुसन्धानकाक्रममा ३६ जनालाई नियन्त्रणमा लिएको र तीमध्ये ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको उल्लेख छ ।
यस्तै, निर्मलाको हत्या भएको २४ दिनपछि घटनास्थलमा नक्कली प्रमाणहरु राखिएको, कन्चनपुरका तत्कालीन डीएसपी अंगुर जिसीले पोलीग्राफी टेस्ट गर्न नमानेको र अनुसन्धानकैक्रममा एआइजी धीरु बस्नेतलाई टेलिफोनमार्फत् धम्की दिएकोसमेत उल्लेख छ ।
टेलिफोनबाट धम्की दिने व्यक्तिले छानबिन समितिमा रहेका दुईजना सदस्यको नाम लिँदै उनीहरु ‘आफ्ना मान्छे हुन्’ भनेको र उक्त अडियो टेपसमेत प्रतिवेदनमा समेटिएको बुझिएको छ ।
अनुसन्धान टोलीमा ११ जना सदस्य रहेकामा नेपाल प्रहरीका प्रवक्तासमेत रहेका एसएसपी उत्तम सुवेदी र एसपी डा. गणेश रेग्मीले प्रतिवेदनमा हस्ताक्षर नगरेको पनि उच्च स्रोतले जनाएको छ ।
एआइजी बस्नेत नेतृत्वको टोलीमा गणेश रेग्मी, उत्तम सुवेदी, निरजबहादुर शाही, रमेश थापा, सन्तोष आचार्य, ज्ञानेन्द्रबहादुर बस्नेत, दधिराम न्यौपाने, कौशलकुमार बुढाथोकी, दीपककुमार कार्की र सुमन थापा रहेका छन् ।
प्रहरी महानिरीक्षक खनालले हामीसँग कुरा गर्दै टोलीले आफूलाई प्रतिवेदन बुझाएको र प्रतिवेदनअनुसार कारबाही अघि बढाउने बताए ।
प्रतिक्रिया दिनुहोस्