२ असार २०८२, सोमबार | Mon Jun 16 2025


भारतलाई पाकिस्तानको चेतावनी– ‘धम्की दिन बन्द गर’


0
Shares

भारतका स्थल सेनाध्यक्ष जनरल बिपीन रावतको भनाईपछि पाकिस्तानले कडा प्रतिक्रिया जनाउँदै त्यस्ता धम्की नदिन चेतावनी दिएको हो । पाकिस्तानले भारतबाट हुने कुनै प्रकारको हमलाको कडा प्रतिवाद गर्न आफू सक्षम रहेको दावीसमेत गरेको छ ।

भारतीय सेनाध्यक्ष रावतले बुधबार पाकिस्तानभित्रै पसेर आक्रमण गर्न पनि पछि नपर्ने बताएका थिए । सरकारले आदेश दिएमा पाकिस्तानी सीमा भित्रै पसेर आक्रमण गर्न भारतीय सेना तयार रहेको उनको भनाई थियो ।
उनले पाकिस्तानसँग परमाणु हतियार रहे पनि त्यसबाट आफूहरु बिचलित नहुने समेत बताएका थिए ।

जवाफमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानको सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, ‘भारतले के गर्छ भन्ने कुरा उसैमा भर पर्छ, तर भारतले हाम्रो धैर्यको परीक्षा लिन चाहेको हो भने उसले चाहेको गर्दा हुन्छ, तर त्यसको परिणामका लागि पनि ऊ तयार रहोस् ।’

उनले भारतको धम्कीबाट पाकिस्तान नडराउने पनि प्रष्ट पारे ।

पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले पनि ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै भारतीय सेनाध्यक्षको भनाईको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘भारतीय सेनाप्रमुखको भनाई गैरजिम्मेवार हो, यो परमाणु हमलालाई निमन्त्रणा गर्नुसरह हो । यदि भारतले त्यही चाहेको हो भने हामी तयार छौं ।’ (एजेन्सी)