एजेन्सी ।
जापानको दक्षिणी प्रान्त कुमामोतोमा आज अपरान्ह गएको शक्तिशाली भूकम्पमा परी थुप्रै मानिसहरुको ज्यान गएको आशंका गरिएको छ ।
स्थानीय समय अनुसार अपरान्ह ४ बजेतिर गएको भूकम्पले थुप्रै घरहरु भत्किनुका साथै सडक पनि चिरा परेका छन् । कुमामोतोको आन सपिङ मल भत्किंदा दर्जनौं मानिस हताहत भएको आशंका जापानको सरकारी टेलिभिजन एनएचकेलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उक्त सपिङ मलमा किनमेलका लागि गएकाहरु र कर्मचारीहरु गरी ठूलो संख्यामा मानिसहरु थुनिएको स्थानीय प्रहरीले जनाएको छ । उक्त मलमा पुरिएकाहरुको खोजी तथा थुनिएकाहरुको उद्धारमा कठिनाई भईरहेको पनि प्रहरीले जनाएको छ । कम्तिमा ५० जना घाइतेलाई अस्पताल पु¥याइएको पनि एनएचकेले जनाएको छ ।
त्यसैगरी भूकम्प गएको बेला बुलेट रेलमा यात्रा गरिरहेकाहरु पनि ठूलो संख्यामा घाइते भएको जनाइएको छ । जापानी प्रधानमन्त्री सनइ ताकाइचीले भूकम्पका कारण ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको, ठूलो संख्यामा घरहरु भत्किएको, सडकहरु चिरिएको, पुलहरु भत्एिको र सार्वजनिक सुविधाहरुमा क्षति पुगेको बताउनुभएको छ ।
जापानको प्रकोप ब्यवस्थापन केन्द्रले कम्तिमा ३ लाख मानिसलाई आपतकालिन केन्द्रहरुमा जान भनेको छ । बुलेट ट्रेन र स्थानीय रेल सेवाहरु अवरुद्ध भएका छन् । प्रधानमन्त्री ताकेइचीले पीडितहरुको खोजी, उद्धार र ब्यवस्थापनमा ३६ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । भूकम्पको गएको क्षेत्र नागासाकीबाट ५५ किलोमिटर टाढा भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्