Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सुशासन कायम गरेरै राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्छौंः अर्थमन्त्री वाग्ले


0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताउनुभएको छ ।

गत वर्षको तुलनामा करिव २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी भए पनि सुशासन कायम गराएरै हालिल गरिने बताउनुभएको हो । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । करिव ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजश्व संकलन भइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताउनुभयो ।

कोभिड महामारीपछि नेपालमा राजश्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उहाँले उल्लेख गर्नुभयो । उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरिएको उहाँको भनाइ छ ।

राजश्व संकलनको गति अझ तिब्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रने बताउनुभयो । निजी क्षेत्रका सुझाव, गुनासा र समस्याहरू सुन्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिनुभयो । करजस्ता महत्वपूर्ण विषयमा पटक–पटक र हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘बोल्ड रिफर्मको सन्देश र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि हामी अगाडि बढिरहेका छौँ । यसपटक राजश्व संकलनको लक्ष्य पनि निकै महत्वाकांक्षी छ । यहाँहरूलाई थाहै छ, गत वर्ष जम्मा १ हजार २५० अर्ब रुपैयाँ राजश्व संकलन भएको थियो । ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलन १२ खर्ब रुपैयाँ मात्रै छ । यसपटक हामीले १ हजार ५८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेका छौँ । यो ठूलो वृद्धि हो । गत वर्षको तुलनामा करिव २७ प्रतिशतको वृद्धि लक्ष्य राखिएको छ । कोभिडपछि हामी औसतमा ७ देखि ९ प्रतिशतको राजश्व वृद्धिमा सीमित छौँ । यो वृद्धिदरले मात्र हामी अपेक्षित लक्ष्यमा पुग्न सक्दैनौँ । त्यसैले २७ प्रतिशत राजश्व वृद्धि हासिल गर्नुपर्छ । सुशासन कायम हुने हो भने यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ छलफल गरेरै हामीले यस्तो लक्ष्य निर्धारण गरेका हौँ । अहिले पनि हामी लक्ष्यभन्दा धेरै पछाडि छैनौँ । यद्यपि राजश्व संकलनको प्रक्रियालाई अझ तीव्र बनाउनुपर्ने आवश्यकता छ । म आफैँ पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रँदै छु । निजी क्षेत्रका सुझाव र गुनासा सुन्न पनि हामी तयार छौँ । तर करजस्ता विषयमा पटक–पटक, हरेक हप्ता नीतिगत परिवर्तन गरिरहनु हुँदैन । अत्यावश्यक विषयमा सुधार गरौँ, तर निजी क्षेत्रलाई नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता (प्रेडिक्टेबिलिटी) पनि दिनुपर्छ ।’

बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि सरकार आर्थिक गतिविधि अघि बढाउन सफल भइरहेको उहाँले बताउनुभयो । राजश्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको समेत उहाँको भनाइ छ ।

Skip This